दुई सचिवको राजीनामा स्वीकृत, दुई जनाको पनि पदावधि सकिँदै, पाँच सचिव पद रिक्त हुँदै


काठमाडौं, १९ माघ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो ।

गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको भने केही दिन अघि नै राजीनामा स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन् । खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन् ।

यससँगै २२ माघदेखि निजामती क्षेत्रमा चार सचिव पद रिक्त हुने भएको हो । हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवा निवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ । सो पदसहित पाँच सचिव पद रिक्त हुने अवस्थामा पुगेको हो ।

२० गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले गृह सचिव राईले आइतबार भने काम गर्ने बताइएको छ । राईको बिदाइ आगामी सोमबार दिउँसो १ बजे गरिने कार्यक्रम तय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालय र अर्थ मन्त्रालयमा सचिव पद रिक्त हुनै लाग्दा त्यहाँ जान अन्य सचिवहरूले दौडधूप तीव्र पारेका छन् । गृह मन्त्रालयका लागि सचिवहरू महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला र केदारबहादुर अधिकारीको दौड छ ।

यी तीनमध्ये एक जना गृह सचिव हुने निश्चित रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यस्तै, अर्थ मन्त्रालयको सचिवका लागि शिशिर ढुंगाना र लक्ष्मण अर्यालको दौड जारी छ । स्रोतका अनुसार ढुंगाना नै अर्थ सचिव हुने सम्भावना बढेको छ ।

सचिव वढुवा सिफारिस समितिको हालै बसेको बैठकले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ । सिफारिस भएकामा दिनेश भट्टराई, टेकनारायण पाण्डे र बाबुराम पौडेल रहेका छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले एक सचिवका लागि तीन जनाको नाम सरकार समक्ष सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीनमध्ये एक नम्बरमा रहेका दिनेश भट्टराईलाई सचिवमा बढुवा गर्ने निश्चित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्