दुगड र गोल्छा कालोसूचीमा


जेठ २२ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ ।

राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ । दश वर्षदेखि कर नतिर्ने करदातालाई यस्तो कारवाही प्रक्रिया अघि बढाएपछि त्यस्तो कारबाहीमा औद्योगिक घरानाका व्यवसायी बढी फस्ने देखिएको । त्यसरी खोजी गर्दा साना, ठूला गरी सयौँ करदाताले घर, जग्गा र व्यवसाय कर नतिरेको देखिएको छ ।

उनीहरुले दुई करोडभन्दा बढी राजस्व नतिरेको देखिएको छ । विराटनगर–८ स्थित दुगड निवासका किसनलाल दुगडले नौ वर्षदेखिको घरजग्गा र व्यवसाय कर गरी रु १५ लाख र विकास दुगडले पाँच वर्षदेखिको रु आठ लाख, नमस्कार होटल विराटनगरका कृष्ण गोपाल श्रेष्ठले १५ वर्षदेखिको रु दश लाख, गोल्छा समूहका दिवाकर गोल्छाले पाँच वर्षदेखिको दश लाख रूपैयाँ तिर्न बाँकी देखिएको भन्दै उनीहरुलाई पनि कालोसूचीमा राखिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्