दुर्गा तिवारी हत्याको विरोधमा काभ्रेमा चक्काजाम


५ पुस ।  युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा काभ्रेमा चक्काजाम गरिएको छ । दिउँसो १ बजे बनेपाको चारदोबाटोमा विरोध जुलुससहित निस्केको ¥यालीले चक्का जाम गरेको हो । युवा संघ काभ्रेले नेकपा (एमाले) काभ्रे जिल्ला पार्टी कार्यालयमा तिवारीको तस्बिर राखी श्रद्धाञ्जली सहित शोक पुस्तिका राखेको हो ।

शोक पुस्तिका उठाएपछि जम्मा भएका सयौँ युवाहरू जुलुससहित चारदोबाटो चोकमा पुगेर चक्काजाम गरेका हुन् । कार्यक्रममा युवा संघ नेपालका उपाध्यक्ष चन्द्र लामाले  दुर्गा तिवारीको हत्याबिरुद्ध देशभर भएका आजका विरोध कार्यक्रमहरु ‘ट्रेलर’ मात्रै भएको भन्दै आवश्यक परे सिङ्गो देश नै ठप्प बनाउने चेतावनी दिए ।

कार्यक्रममा  बनेपा, धुलिखेल, पनौती, जनागाललगायत जिल्लाका विभिन्न ठाउँबाट युवा नेता तथा कार्यकर्ताहरू रहभागी भएका थिए । उक्त विरोध कार्यक्रमको नेकपा एमाले काभ्रेका सदस्य एवं युवा इन्चार्ज राकेश लामा, युवा संघ काभ्रेका अध्यक्ष होमप्रसाद चौलागाईं, उपाध्यक्ष विक्रम चौलागाईं, सचिव रमेश लामा, अनेरास्ववियुका केन्द्रीय सदस्य निरोज पाण्डे, विद्यार्थी नेताहरू नवराज सापकोटा लगायतले नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्