देउवालाई छेउमै राखेर शशाङ्कले भने– ‘प्रदेश नम्बर पाँच जनभावना विपरित तलमाथि हुँदैन’


८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा संविधानले निर्धारण गरेको अवधिभित्र तीनै तहका निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । उनले त्यसो भए मात्र संविधानको पूर्ण कार्यान्वयन हुने दाबी गरे ।

कांग्रेसका जिल्ला कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने– ‘आफैले प्रस्ताव गरेको प्रदेश सीमाङ्कन प्रस्तावको विरुद्धमा नेकपा (एमाले) लाग्नुको कुनै औचित्य छैन ।’  उनले  मुलुकलाई निकास दिन संसद् खोल्नै पर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकका गम्भीर विषयमा दलहरुबीच अविश्वास बढेका कारण वर्तमान गतिरोध उत्पन्न भएको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बेला सबै दल सहमतिमा आउनुको विकल्प नभएको धारणा राखे ।

उनले पार्टीभित्र गुटउपगुट बढेकोमा चिन्ता व्यक्त गर्दै भने– ‘लटपट्याएर पार्टी कब्जा गर्ने अवस्थामा एकताको कुरा गरेर मात्र केही हुदैँन ।’
महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान राजनीतिक गाँठो फुकाउन ठूलो दलको हैसियतले कांसको नेतृत्वमा सबै दल मिलेर गहन छलफल गर्नुपर्ने बताए । संविधान संशोधनका सम्बन्धमा ५– नम्बर प्रदेशका जनताको भावना समेट्नुपर्ने उनको धारणा थियो ।

देउवाले प्रदेश नम्बर पाँच पहाडबाट अलग गर्दा कुनै फरक नपर्ने भन्दै गर्दा शशाङ्कले भने विरोध गरेका थिए । ‘प्रदेश नम्बर–५ जनभावना विपरित तलमाथि हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्