देउवाले भने, ‘तराई र पहाडका जिल्ला यताउता हुँदैमा केही हुन्न’


२३ मंसिर । प्रायः राजनेताहरुले जनभावना र लहर बुझेर बोल्छन् । तर, संविधान संशोधन प्रस्ताव ल्याउन अग्रसर सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने ५ नम्बर प्रदेशको जनताको भावनालाई ठेस पुग्ने अभिव्यक्तिहरु बारम्बार दिइरहेका छन् । बिहीबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले भने, ‘समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यताउता हुँदैमा केही हुँदैन । यसमा एमालेले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को बिहीबार लोकार्पण गर्दै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन ल्याइएको बताए । मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको दाबी पनि सभापति देउवाले गरे ।

सभापति देउवाले देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरेका थिए । साझा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा सभापति देउवाले सरकारले दिने घोषणा गरेका ऋण र अनुदान गरी रु ४० करोड साझा प्रकाशनलाई उपलब्ध गराउन पहल गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।

यसअघि दुई राजनीतिक पुस्तक लेखेको घिमिरेको ‘प्रतिज्ञाको पहाड’ तेस्रो पुस्तक हो । पुस्तकबारे डा. कुमारबहादुर कोइराला र हरि अधिकारीले समीक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्