देउवा र प्रचण्ड दुबैलाई किन दिए भीम रावलले राष्ट्रघातीको संज्ञा ?


२७ चैत । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले नेपाली काँग्रेसका र माओवादी केन्द्रका कारण देश थप समस्यामा गुज्रिएको आरोप लगाएका छन् । नेपाल वुद्धिजीवी परिषद् ७ नं. प्रदेशस्तरीय वुद्धिजिवि भेलालाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले काँग्रेस र माओवादीका शीर्ष नेताहरु छिमेकी मुलुक भारतको इशारामा चलेको पनि आरोप लगाए । उनले खुलेरै काँग्रेसका सभापति देउवा सबैभन्दा ठूला देशघाती भएको पनि आरोप लगाए । ‘प्रचण्ड नेतृत्वको सरकार भारत सरकारको डिजाइन अनुसार बनेको हो,’ उनले भने, ‘संविधान संशोधन प्रस्ताव पनि भारतकै ईसारामा भारतलाई खुसी पार्न र नेपाललाई कमजोर पार्न ल्याइएको भएकाले हामीले अस्वीकार गरेको हो ।’

उनले अहिले सरकारले सीमांकनलाई थाती राखेर भाषा, नागरिककतालगायतका विषयमा संशोधन अघि बढाउने प्रस्ताव ल्याए त्यसलाई पनि अस्वीकार गर्ने चेतावनी दिए ।

‘विदेशी नागरिकलाई नागरिकता दिएर नेपाललाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ,’ उनले भने,’ ‘त्यसलाई हामी स्वीकार गर्न सक्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्