देवी ज्ञवाली भन्छन्, ‘सर्वोच्चको ढिलाइका कारण मैले पराजय बेहोरेँ’


२३ साउन । नेकपा (एमाले) का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वोच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नुपरेको बताएका छन् । एमाले चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्न समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोग्नुपरेको बताए ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानका लागि निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । पहिलो चरणको निर्वाचन वैशाख ३१ गते भएकोमा जेठ १४ गते राति मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो । त्यसको एक सातापछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

जेठ २१ गते सर्वोच्चमा मुद्दा परेकोमा साउन १५ गते सर्वोच्चले फैसला सुनाएको थियो । यो अवधिमा राज्य सत्ताको चरम दुरुपयोग भएको बताउँदै ज्ञवालीले भने, “यो अवधिमा सत्ताको आडमा विकासका नाममा करोडौँं रुपैयाँ रकमान्तर गरियो र झुट्टा विकासे आश्वासन जनतालाई दिइयो ।” तत्काल पुनःनिर्वाचन भएको भए परिणाम भिन्न आउने ज्ञवालीले बताए । आफूलाई हराउनकै लागि मुद्दाको फैसलामा ढिलाइ गरिएको उनको आरोप थियो ।

पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनःनिर्वाचनको समयमा सत्ताको आडमा नक्कली अनुमतिपत्र बनाएर सवारी साधन प्रयोग गरिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्