देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक– पूर्वमन्त्री बस्नेत


 

१५ पुस । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज  आयोजित नवौ वार्षिक साधारण सभामा उनले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताए ।

नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताए ।

देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उनले भने“नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।”

विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हटन नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उहाँले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताए।

सो अवसरमा राष्ट्रिय सहकारी बैँकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आवद्ध भएको र चार लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएको चर्चा गर्दै सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिए ।

भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वालगायतले उद्योग एवम् व्यवसाय प्रवद्र्धन गर्नसके देशमा आर्थिक सङ्कट कहिल्यै नआउने बताए ।

सहकारी संस्थाका अध्यक्ष विज्ञान राईले ७४ लाख ७५ हजार ६९९ रुपैया खुद नाफा गर्न सफल भएको र सेयर सदस्यलाई १२ प्रतिशत बोनस वितरण गरेको जानकारी दिए । संस्थाको रु ५१ करोड दुई लाख ३० हजार ४३७ को निक्षेप सङ्कलन भएको र कूल रु तीन करोड ३४ लाख ३४ हजार ७०० सेयर पुँजी रहेको पनि उनले बताए ।

कार्यक्रममा संस्थाका चारजना उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ भने यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थाका सदस्यको ३४ जना छोराछोरीलाई ताम्रपत्रसहित नगद जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्