देश बनिनसकेको एउटा देशको कथा


विश्वका कान्छो मुलुक दक्षिण सुडानमा फेरि हिंसा मच्चिएको छ । गत शुक्रबार राष्ट्रपति साल्भा किर र प्रथम उपराष्ट्रपति रिक मचार समर्थक सैनिकहरुको गोली हानाहानमा परी डेढ सयभन्दा बढी मानिस मारिएका छन् । संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न आग्रह गरेको छ । तर, राजधानी जुवामा रहेको उसको मिसन नै असुरक्षित देखिएको छ । हजारौं मानिसले शरणका लागि अनुरोध गरिरहेका छन् । जातीय द्वन्द्वका कारण जर्जर बनेको दक्षिण सुडान पछिल्लो युद्धपछि थप संकटमा फसेको छ ।

सातौँ पटकको शान्ति सम्झौता भंग

अमेरिकाले शीघ्र शान्ति सम्झौतमा हस्ताक्षर गर्न वा नाकाबन्दीको सामना गर्न तयार रहन चेतावनी दिएपछि दक्षिण सुडानका द्वन्द्वरत दुबै पक्षले सातौँ पटक विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । इथोपियाको राजधानी आदिस अबाबामा युगान्डा, इथोपियालगायतका देशका राष्ट्रपति, अमेरिकी राजदूत, युरोपेली युनियनका प्रतिनिधिहरुका रोहबरमा राष्ट्रपति साल्भा किर र अपदस्थ उपराष्ट्रपति रिक मचारबीच शान्ति सम्झौता गर्ने तय थियो । मचारले गत २०१५ अगस्त १७ तारिखमा आयोजित कार्यक्रमकै बीचमा सही पनि गरे । तर, राष्ट्रपति किरले भने सेनासँग सल्लाह गर्नुछ भन्दै दुई साताको समय मागेर स्वदेश फर्किए । अन्तिममा आफ्ना केही मतभेदहरु छन् भन्दै राजधानी जुवामा आयोजित कार्यक्रममा २०१५ अगस्त २६ मा उनले पनि हस्ताक्षर गरेपछि त्यहाँ दुई पक्षबीच सातौंपटक युद्धविराम भएको थियो । अपदस्थ उपराष्ट्रपति रिक मचार त्यही सम्झौता बमोजिम प्रथम उपराष्ट्रपतिका रुपमा आफ्ना सैनिकसहित जुबा फर्किएका थिए ।

विदेशी मध्यस्थता र अग्रसरतामा भएको शान्ति सम्झौता अनुसार अब ३० महिनाका लागि दक्षिण सुडानमा अन्तरिम सरकार बनेको थियो । अपदस्थ उपराष्ट्रपति रिक मचार प्रथम उपराष्ट्रपतिका रुपमा पुन:स्थापित भएका थिए भने दुबै पक्षका सैनिकहरुले लडाइँ बन्द गरेका थिए । राजधानी जुबाको सुरक्षा विदेशी सैनिकले गरिरहेका छन् । १० मध्ये दुई प्रान्तका गभर्नर विपक्षले नियुक्त गर्ने र सेना समायोजन नहुञ्जेल दुबै नेता आ–आफ्ना सैनिकका कमान्डर इन चिफ भइरहने सम्झौता भएको थियो । ३० महिनाभित्र दक्षिण सुडानमा निर्वाचन हुने र निर्वाचित सरकारले कार्यभार हातमा लिने सहमति भए पनि यस्तो अवस्थाले उक्त सम्झौता धरापमा परेको छ ।

दक्षिण सुडानका लागि सम्भवत: यसभन्दा खस्किने ठाउँ बाँकी छैन । पहिला असफल राष्ट्रको सूची भनेर चिनिँदै आएको र अहिले फ्रेजायल स्टेट भनिने सूचीमा चार वर्षदेखि यो मुुलुक पहिलो नम्बरमा छ । जातीय हिंसा रोकिएन भने यहाँका मानिस लडेरै नसकिएलान् भन्न सकिन्न ।

kiir
जातीय द्वन्द्वका दुई नेता उपराष्ट्रपति रिक मचार र राष्ट्रपति साल्भा किर

जातीय द्वन्द्वको दुश्चक्र

दक्षिण सुडान विश्वका असफल राष्ट्र्रको सूचीमा पहिलो नम्बरमा पर्नुको मुख्य कारण हो– जातीय द्वन्द्व । उर्वरा जमिन, परिश्रमी जनता, मिलेको भूगोल र प्रशस्त तेलखानी भएको यो मुलुक जातीय विविधताले भरिएको छ, जहाँ मुख्य जातिका रुपमा ३५ दशमल ८ प्रतिशत डिंका र १५ दशमलव ६ प्रतिशत न्युर छन् । त्यसपछि क्रमश: शिलुक, अजान्डे, बारी, काक्वा, कुकु, मार्ले, मन्डारी, डिलिंगोलगायतका जातिका मानिसको बसोबास छ । तर, त्यही जातीय विविधिता नै आजको दक्षिण सुडानका लागि अभिषाप सावित भइरहेको छ । १ करोड २४ लाख जनसंख्यामध्ये समभवत: यस्तो कुनै परिवार छैन, जसलाई जातीय द्वन्द्वले नछोएको होस् । युद्धकै कारण औसत आयु ५४ वर्षमा सीमित छ भने साक्षरता प्रतिशत २७ बाट उँभो लाग्न सकेको छैन । भदौको पहिलो साता दक्षिण सुडानको राजधानी जुबा र अर्को ठूलो सहर रुम्बेक पुग्दा देखे–भोगेका केही तथ्यहरुले स्पष्ट पारे– जातीयताले कुनै मुलुकलाई कहाँसम्म पुर्‍याउन सक्दोरहेछ !

जातीयताको डरलाग्दो चित्र

पाच वर्षअघिसम्म साल्भा किर र रिक मचारले काँधमा काँध मिलाएर युद्ध लडेका थिए । ती दुई नेता मिलेर नलडेको भए दक्षिण सुडान स्वतन्त्र देश बन्न सायदै सम्भव थियो । सन् २०११ जुलाई ९ मा दक्षिण सुडान कान्छो मुलुकका रुपमा विश्व मानचित्रमा उदाउनमा यी दुई नेताकै नेतृत्वदायी योगदान छ । मुलुक स्वतन्त्र भएपछि साल्भा किर राष्ट्र्रपति भए भने रिक मचार उपराष्ट्र्रपति । मुलुक नै नबनिसकेको दक्षिण सुडान बामे सर्दै थियो । सेना बन्दै थियो, सरकारले काम भर्खर सुरु गर्दै थियो, मुद्रा तयार हुँदै थियो । देश बनिनसक्दै यी दुई नेताबीच भित्रभित्रै अविश्वासको खाडल यति गहिरो भइसकेको थियो, सन् २०१३ को डिसेम्बरसम्ममा आइपुग्दा यिनीहरु नदीका दुई किनारा जस्तै बन्न पुगे । राष्ट्रपति किरले उपराष्ट्रपति मचारले आफ्नाविरुद्ध ‘कु’ गर्न खोजेको आरोप लगाए, देशद्रोहको अभियोग खडा गरे र अपदस्थ गरे । मचार रातारात भूमिगत भए, उनका समर्थकहरुको भागभाग भयो । दक्षिण सुडानमा एकाएक हाहाकार मच्चियो ।

आखिर सँगै लडेर मुलुक बनाउने यी दुई नेता दुई वर्षमै किन शत्रुमा परिणत भए त ? यसका पछाडि जातीय कारण मुख्य थियो । राष्ट्रपति किर डिंका जातिका थिए भने उपराष्ट्रपति मचार न्युर जातिका । राम्ररी खुट्टा टेक्नै नसकेको मुलुकमा एकाएक रक्तपात सुरु भयो । डिंकाको बाहुल्य भएका क्षेत्रबाट न्यूर जातिका मानिस लखेटिए भने न्युरको बाहुल्य भएका क्षेत्रबाट डिंकाको उठिबास लाग्यो । त्यसैका कारण सरकारी संयन्त्र पनि विभाजित भयो । सुडानबाट दक्षिण भागलाई टुक्र्याएर अलग राष्ट्र बनाउन लडेको सुडनिज पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) दुई भागमा बाँडियो । डिंका जातिका सैनिकले राष्ट्रपति किरलाई साथ दिए भने न्यूर जातिका सैनिकले विद्रोह गरेर अपदस्थ उपराष्ट्रपति मचारका पक्षमा उभिए ।

त्यसपछि तेस्रो पटक गृहयुद्धमा फसेको दक्षिण सुडानमा आज विदेशी सैनिक भित्रिएका छन् । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) का रुपमा राष्ट्रसंघ सक्रिय छ, विदेशीका लागि आफ्नो अनुभव बढाउने र मोटो रकम कमाउने उपयुक्त गन्तव्यका रुपमा दक्षिण सुडान चिनिएको छ ।

शरणार्थीहरुको देश !

नयाँ राष्ट्र बनाउनका लागि भएको लडाइँमा २० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका आँकडाहरु छन् । दु:खद् कुरा, नयाँ राष्ट्र बनेपछि पनि त्यो क्रम रोकिएको छैन । २०१३ डिसेम्बरको उक्त घटनापछि मात्रै एक लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । गोप्य रुप र अनकन्टार ठाउँहरुमा भएका हत्याको त लेखाजोखा नै छैन ।

0,,17343087_303,00

दक्षिण सुडानको राजधानी जुवा पुग्नासाथ सिंगो देशको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिँदोरहेछ । राजधानीकै जेबल क्रुजरमा संयुक्त राष्ट्रसंघले पाँच किलोमिटरको परिधिलाई घेरेर कार्यालय स्थापना गरेको छ । त्यसैको छेउमा तीनवटा ठूल्ठूला शिविर छन् । त् िहुन्– राजधानी जुवाबाट विस्थापितहरुका आश्रयस्थल । जुवामा डिंका जातिको बाहुल्य छ । हिंसा भड्किएपछि न्युरहरुले घरमा बस्न पाएनन् । एकै रातमा त्यहाँ १० हजार न्युरहरुको हत्या भएको अनुमान छ, हजारौंका घरमा आगो लगाइयो । आन्तरिकरुपमा विस्थापित न्युरहरुको संख्या जुवामा मात्रै ४० हजार छ । तिनलाई अनमिसले व्यवस्थापन गरेको छ । विश्व खाद्य कार्यक्रम, अन्तर्राष्टिय रेडक्रस, विश्व आप्रवासी संगठन जस्ता संस्थाले साप्ताहिक रुपमा बाँड्ने खाद्यान्नबाट उनीहरुको गुजारा चलिरहेको छ । 

न्युर जातिका मानिस मात्रै पीडित छैनन् । अपर नाइल क्षेत्रमा पर्ने मालाकाल शरणार्थीहरुको अर्को केन्द्र हो, जहाँ डिंका जातिका विस्थापित मानिस यस्तै शिविरमा बस्छन् । तीन मुख्य भागमा बाँडिएको सुडानको एउटा महत्वपूर्ण क्षेत्र अपर नाइल विद्रोहीहरुको कब्जामा छ, जहाँ सुडानका तीन प्रान्त पर्दछन् । त्यहाँबाट न्युर जातिका मानिसले डिंका जातिका मानिसलाई विस्थापित गरेका छन् । राजधानी जुवामा जस्तै त्यहाँका विस्थापितहरुलाई पनि अन्तर्राष्टिय समुदायले पालिरहेको छ ।

दक्षिण सुडानमा आन्तरिक रुपमा १० लाख मानिस विस्थापित भएको आँकडा छ । साथै, देशभित्र बस्न नसकेर छिमेकी सुडान, केन्या र युगान्डामा चार लाख मानिसले शरण लिइरहेको संयुक्त राष्ट्रसंघीय तथ्यांक छ ।

लडाइँमै हुर्केको पुस्ता

दक्षिण सुडानमा सामान्यत: बुद्धबुद्धा देख्न पाइँदैन । किनभने, लगातारको युद्धले मानिसलाई पूरै जीवन बाँच्न दिएको छैन । धेरै जसो मानिसले युद्धमै ज्यान गुमाएका छन् । जसले त्यस्तो दुर्भाग्य भोग्नुपरेको छैन, उनीहरु पनि भोकमरी, स्वास्थ्य उपचारको अभाव जस्ता समस्याले लामो जीवन यापन गर्न असमर्थ छन् ।

दक्षिण सुडानमा युद्ध आज सुरु भएको होइन । इजिप्टका राजा मोहम्मद अलीका पालामा सुडानमाथि उनले कब्जा जमाएका थिए । पछि १९ औँ शताब्दीमा दुनियाँभरमा जगजगी फैलाएको बेलायतले इजिप्टसँग मिलेर सुडानलाई नियन्त्रणमा लिएको थियो । त्यसबाट मुक्तिका लागि सुडानीहरुले गरेको संघर्षको परिणामस्वरुप ३१ डिसेम्बर १९५५ मा यसले स्वतन्त्रता प्राप्त गरेको थियो । त्यस लगत्तै दक्षिण भागमा आफूलाई उपेक्षा गरिएको, प्राकृतिक स्रोत–साधनको दोहन गरिएको र शोषण भएको भन्दै आन्दोलन सुरु भएको थियो ।

सन् १९७२ मा दक्षिण सुडानमा पहिलो गृहयुद्ध सम्झौतामा पुगेर टुंगिएको थियो । दक्षिण सुडानलाई स्वायत्तता दिन सुडानी सत्ता तयार भएपछि रोकिएको लडाइँ १२ बर्षमै फेरि सुरु भयो, जब सन् १९८३ मा त्यहाँको स्वायत्तता खारेज भएको घोषणा गरियो । त्यसयता सुरु भएको दोस्रो गृहयुद्ध सन् २००५ मा इथोपियाको आदिस अबाबामा शान्ति सम्झौता भएपछि मात्रै रोकिएको थियो ।

bal

सुडान सरकार र दक्षिण सुडानमा अलग्गै राज्यको माग गरेर लडिरहेको एसपीएलएबीच जनमतसंग्रह गर्ने, त्यसबाट जे परिणाम आउँछ, त्यसलाई दुबैथरीले स्वीकार गर्ने सहमति भएपछि दक्षिण क्षेत्र शान्त बनेको थियो । दुर्भाग्यबश त्यतिबेलै दक्षिणका सर्वसम्मत नेता जोन ग्य्राङको इथोपियाबाट जुवा फर्किंदै गर्दा रहस्यमय हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । त्यसै कारण भड्किएको हिंसामा थप हजारौँले ज्यान गुमाए ।

सन् २०११ जुलाई ९ मा दक्षिण सुडानमा सम्पन्न जनमतसंग्रहमा ९८ दशमलव ८३ प्रतिशत जनताले अलग राष्ट्र बन्ने पक्षमा मतदान गरे । फलत: उत्तरपूर्वी अफ्रिकाको यो भूपरिवेष्ठित भू–भाग विश्वको कान्छो मुलुकका रुपमा स्थापना भयो । हिंसा भइरहने अफ्रिकामा सन् १९९३ मा इथोपियाबाट इरिटिया टुक्रिएछि बनेको यो नै पहिलो राष्ट्र थियो । मुख्य विवाद: तेल खानी

तेल विक्रीका लागि विश्वमै अग्रस्थानमा रहेको सुडानका ७५ प्रतिशत तेल खानीहरु दक्षिण क्षेत्रमै थिए । त्यही कारण आफूसँग असन्तुष्ट रहेको अमेरिकाले दक्षिण क्षेत्रलाई उचालेको आरोप सुडानको सत्ताले लगाउने गरेको थियो । अहिले विभाजनपछि दक्षिण सुडानमा भइरहेको लडाइँको केन्द्रमा पनि तिनै तेलखानी छन् ।

१० प्रान्तमा बाँडिएको दक्षिण सुडानका तीन प्रान्त उपराष्ट्रपति रिक मचारको पकडमा छन्, जहाँ अधिकांश तेलखानी छन् । अन्तरिम संविधानले दक्षिण सुडानलाई संघीयतामा लैजाने घोषणा गरेको छ । तर, प्रदेशहरुको अधिकार बाँडफाँटका बारेमा दुई पक्षबीच कुरा मिलिरहेको छैन । राष्ट्रपति किर पक्ष केन्द्रलाई बलियो बनाउने पक्षमा छ भने अपदस्थ उपराष्ट्रपति रिक मचार पक्ष प्रान्तलाई बलियो बनाएर आफ्नो पकडमा रहेका तेलखानी सुरक्षित गर्न चाहन्छ ।

तेल खानी दक्षिण सुडानमा भए पनि विक्रीका लागि उत्तरी सुडानबाट बिछ्याइएका पाइपबाट तेल पठाउनुपर्छ । आफूबाट भर्खरै टुक्रिएको मुलुकलाई उसले सहुलियत दिने कुरा भएन । त्यही भएर आफ्नो भू–भागमा पहिल्यै बिछ्याइएका पाइपमार्फत तेल निकासी गर्दा सुडानले चर्को मूल्य असुल्छ । तेलको खानी भएको अबे क्षेत्र र नुबा पहाडमाथि दुई देशको दावी कायमै छ ।

विदेशीको चहलपहल

दक्षिण सुडानको राजधानी जुवामा पाइला टेक्नेवित्तिकै थाहा हुन्छ– त्यहाँ विदेशीहरुको कति बाक्लो उपस्थिति छ ! गत वर्ष अगस्तको अन्तिम साता जुवा विमानस्थलमा उत्रिँदा पार्किङमा राखिएका ३६ वटा हवाई साधनमध्ये एउटा पनि निजी विमान कम्पनी वा त्यहाँको सरकारी विमान देखिएन । ती जहाज र हेलिकोप्टर संयुक्त राष्ट्रसंघ, विश्व खाद्य कार्यक्रम, अन्तर्राष्टिय रेडक्रस जस्ता संस्थाका थिए ।

जुवामा गुड्ने प्रत्येक तीन सवारी साधनमध्ये एक विदेशीको हुन्छ । संयुक्त राष्ट्रसंघका मात्रै हजारौँ सवारी साधन छन् । कालो छाला भएका दक्षिण सुडानी जनताका बीचमा सेता छालाहरुको हेर्नलायक चहलपहल जताततै देख्न पाइन्छ । कालै छाला भएका इथोपिया, युगान्डा, केन्या, कंगोलगायतका मुलुकका सेना र गैरसरकारी मानिसहरुका लागि पनि त्यो मुलुक राम्रो आम्दानीको स्रोत बनेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको रिजुलुसन नम्बर २२३३ (२८ मे २०१५) को कार्यादेश अनुसार अनमिसका लागि वार्षिक १ अर्ब ९ करोड ७३ लाख १५ हजार १ सय डलर बजेट छ । त्यस अन्तर्गत त्यहाँ १२ हजार ५ सय २३ विदेशी सैनिक, ७ सय ६९ सादा पोशाकका सुरक्षाकर्मी र १ हजार २ सय ४ जना गैरसैनिक कर्मचारी कार्यरत छन् । यसबाहेक अफ्रिकी युनियन, आइग्याड, छिमेकी युगान्डा लगायतका हजारौँ सैनिक तथा गैरसैनिक मानिसहरु दक्षिण सुडानमा कार्यरत छन् ।

जनतालाई मगन्ते बनाएपछि…

छ दशकभन्दा बढी समय त्यहाँका जनताले युद्धमै बिताएका छन् । अर्को शब्दमा भन्दा दक्षिण सुडानमा अहिले जीवित प्रत्येक मानिसको जन्म नै युद्धका बेला भएको हो । त्यही भएर उनीहरुमा युद्धका प्रभावहरु हावी छन् । सामान्य विवादमा पनि बन्दुक चलाउनु, रिस उठेको व्यक्तिको हत्या गर्नु, आफ्ना पूर्खालाई फलानाको पूर्खाले मारेको थियो भनेर बदला लिनु जस्ता कुरालाई सामान्य नै मानिन्छ । गाईपालन मुख्य पेसा रहेको त्यहाँ गाईकै कारणले गाउँ नै सखाप हुने गरी हत्या र आगजनी भइरहन्छ ।

REFU-703x422

बाहिरबाट हेर्दा दक्षिण सुडानको जमिन मलिलो देखिन्छ । यतिबेलाको मौसममा स–साना रुखविरुवाले गर्दा जताततै हरियाली देखिन्छ । तर, विडम्बनाको कुरा, त्यहाँ कुनै खेतीपाती गरेको देखिँदैन । आखिर किन होला ? युद्धकै बेला जन्मेका मानिस भएका कारण खेती गर्नुपर्छ भन्ने भावना नै उनीहरुमा छैन । वारम्बार एक ठाउँबाट विस्थापित भएर अर्को ठाउँमा पुग्नुपर्ने, लडाइँको सामना गर्नुपर्ने जस्ता कारणले उनीहरुलाई एक ठाउँमा बसेर गर्नुपर्ने कृषि पेसाबाट विमुख गराएको विश्लेषण पाइन्छ ।

एकातिर त्यहाँका जनताका लागि एकै ठाउँमा बसेर गर्नुपर्ने खेतीपाती जटिल बन्ने अनि अर्कातिर पश्चिमा राष्ट्रहरुले उनीहरुलाई दयाका पात्र बनाएर खाद्यान्न बाँडिरहने दुबै कारणले त्यहाँका जनता मगन्ते अवस्थामा पुगेका छन् । अहिले पनि दक्षिण सुडानका जनतालाई विश्व खाद्य कार्यक्रमले पालिरहेको छ । विस्थापितहरुको लगत लिनु, उनीहरुलाई प्रत्येक साता लाइनमा उभ्याउनु, अड्कलेर खाद्यान्न वितरण गर्नु, त्यसका कारुणिक तस्वीर खिच्नु, लामा–लामा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्नु र फेरि त्यस्तै कर्म दोहोर्‍याइरहनुमा उनीहरुलाई पनि आनन्द छ । भएभरका अन्तर्राष्टिय संस्थाहरु अहिले दक्षिण सुडानमा ओइरिएका छन् ।

दक्षिण सुडानको भोकमरीको सामना गर्न कृषि काममा जनतालाई फर्काउनुको विकल्प छैन । जनतालाई मगन्तेको साटो परिश्रमी बनाउनका लागि प्रशस्त जमिनलाई उपयोग गर्नैपर्छ । त्यसको चेतना केही रुपमा पलाएको पनि पाइन्छ । जस्तो– त्यहाँको सरकारले शनिवार र आइतबार सार्वजनिक विदाका दिन सरकारी अधिकारीहरुलाई समेत गाउँमा गएर खेतीपाती सम्बन्धी काममा सहभागी हुन अनिवार्य गरेको छ । केही अन्तर्राष्टिय संस्थाहरुले गाउँमा खेती गर्नका लागि ट्याक्टर पनि बाँड्न सुरु गरेका छन् । राष्ट्रपति किरले आफ्ना जनतालाई सम्बोधन गर्दै भनेका छन्– ‘घरमा भएका गाई बेचेर भए पनि बीउ किन्नुहोस्, खेती गर्नुहोस् । अब हामी आत्मनिर्भर हुने यसबाहेक अर्को कुनै बाटो छैन ।’

प्रतिक्रिया दिनुहोस्