देश विखण्डन गर्न दिँदैनौँः पूर्वमन्त्री बस्नेत


५ मङ्सिर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।
भक्तपुर कमलविनायकस्थित शुभज्योति बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा शनिबार बोल्दै उनले भने, ‘केही व्यक्तिको स्वार्थमा भइरहेको कार्यको पर्दाफास गर्दै कुनै हालतमा देश विखण्डन गर्न दिदैनौं ।’

देशभित्र जातजाति र भाषाभाषीको नाममा द्वन्द्व सिर्जना गराई देशलाई विखण्डन गराउने षड्यन्त्रले संविधान संशोधनको कुरा आइरहेको बताउँदै उनले तराई, हिमाल र पहाडलाई छुट्याएर प्रदेश बने देशको अस्तित्व मेटिने विचार व्यक्त गरे । बस्नेतले सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा अहिलेको प्रदेश नं ५ मा तराईका जिल्लामात्र समावेश गरी तराई र पहाडबीच विखण्डन ल्याउने खालको संशोधन प्रस्तावको तयारी गरिरहेको बताउँदै यसका विरुद्ध जनताले खबरदारी गर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईं, युवा साकोसका सचिव सोम शर्मा बजगाईंले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा सहकारीले ओगटेकाले मुलुकको विकास निर्माणमा सहकारीको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्