दोलखाका तीन सांसद चार बालबालिकाको अभिभावक


दोलखा, बैशाख १७ । एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङसहित तीन सांसदले जिल्लाका बिपन्न परिवारका चार बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन । सरकारले देशभर बालबालिका विद्यालय भर्ना अभियान चलाइरहेका बेला सांसदत्रयले अभिभाकत्व ग्रहण गरेका हुन् । भीमेश्वर बहिरा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा उनीहरुले बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै पठनपाठमा सहयोग गर्ने  घोषणा गरे ।

प्रतिनिधिसभाका सांसद  गुरुङले सो विद्यालयमा अध्ययनरत १० बर्षिया बालिका रुकमणि माझीको अभिभावकत्व ग्रहण गरे । त्यस्तै,  प्रतिनिधिसभा सदस्य शान्ति पाख्रिनले निखिल माझी र प्रतिमा माझीको अभिभावकत्व ग्रहण गरिन् । प्रदेशसभा सदस्य सरस्वती वस्नेतले निकिसा खड्कालाई अभिभावकत्व ग्रहण गर्दै उनीहरुको पढाइमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

अभिभावक ग्रहणपछि प्रतिनिनिधि सभा सदस्य गुरुङले दोलखा जिल्लाको एक मात्र अपाङ्ग क्षेत्रको प्रतिनिधित्व गर्ने विद्यालयलाई विशेष सहयोग गर्ने बताए । उनले सबै स्थानीय तहले उक्त विद्यालयका लागि बजेट छुट्याउन पहल गरिने जानकारीसमेत दिए । यसअघि सांसद गुरुङले विगु गाउँपालिका–४ स्थित शान्ति आदर्श मावि लादुकमा आयोजित कार्यक्रममा पनि अर्का विद्यार्थीको अभिभाकत्व ग्रहण गरेका थिए । सांसद गुरुङले सोही विद्यालयबाट प्रवेशिका(एसएलसी) परीक्षा उत्तीर्ण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्