दोलखा पहिरो : पुनर्निर्माण प्राधिकरणको नजर पुगेन, पहिरोले गाउँ नै बगायो


दोलखा, ६ असोज । दोलखा कालिञ्चोक गाउँपालिका–५ काँडाबारीका विश्वमान थामी (६३ वर्ष) ले भूकम्पपछि बनेको घरको ऋण बल्ल चुक्ता गर्दै थिए, २२ भदौमा आएको पहिरोले जग समेत नरहने गरी बगाइदियो । भर्खरै भाँचेको मकै बरन्डाभरि थियो, घरसँगै बग्यो । यतिवेला उनीसँग न त खानलाई अन्न छ, न पकाउने भाँडाबर्तन नै ।

‘भूकम्पले लडाएको घर बनाउन ऋण लाग्यो । दार्जिलिङ गएर भारी बोकी कमाएको पैसाले बल्ल ऋण तिरिसकेको थिएँ,’ ध्वस्त घरको भग्नावशेष देखाउँदै उनले भने, ‘अब त्यस्तै घर मैले कसरी बनाऊँ ? ऋण लाग्छ, कहाँबाट तिरौं ?’

घर सामुन्नेको बारीमा कोदो भर्खर पसाउँदै थियो । पहिरोले बारीलाई बगरमा परिणत गरिदियो । करेसाबारीमा लहलहाउँदा तरकारी थिए । पहिरोले बगाएर ल्याएको लेदोसँगै सबै बगे । ‘हिउँदमा खाने कोदो त्यही बारीमा फल्थ्यो । अब के खाने थाहा छैन,’ बगरमा बदलिएको बारी देखाउँदै विश्वमानले भने, ‘यसपालि अनिकालले मरिन्छ जस्तो लागेको छ ।’

काँडाबारी गाउँकै रहमान थामी (४२ वर्ष) टुसुक्क बसेर पहिरोले ध्वस्त घरको भग्नावशेष नियाल्दै थिए । कोदो पसाउँदै गरेको उनको बारी पनि पहिरोमा बग्यो । त्यही कोदोले ६ महिनाको छाक टथ्र्यो । उनलाई पनि भोकमरीको चिन्ताले सताएको छ । ‘विदेश जाउँ कारोनाको डर छ । यहीँ बसौँ बारी बगर बन्यो,’ सिमसिम झरीले भिजेको निधार पुछ्दै उनले भने, ‘भूकम्पको वेलाभन्दा पनि ठूलो दशा आइलाग्यो, यसपालि हामीलाई ।’

काँडाबारीकै लालमान थामी (६३ वर्ष) ले पनि ऋण गरेरै भूकम्पमा ढलेको घर उठाएका थिए । साहुले च्यापेपछि उनी पनि दार्जिलिङ गए । खाइनखाई पैसा जम्मा गरेर ऋण तिरे । सोही घर पहिरोले बगाउँदा उनलाई अहिले धर्ती फाटेझैँ भएको छ । घरसँगै अन्नपात पनि बगेका छन् । उनीसँग अहिले न थापीखाने थाल छ, न पकाइखाने भाँडाकुँडा ।

पहिरोपछि गोठमा विस्थापित भएको छ, उनको परिवार । ‘दार्जिलिङमा भारी बोकेर ल्याएको पैसाले भूकम्पमा ढलेको घर बनाएँ, त्यही पनि पहिरोले लग्यो । मेरो त सर्वस्व नै गएझैँ भएको छ,’ लालमानले भने ।

उस्तै पीडा छ, काँडाबारीभन्दा तल्लो मैदानटोलकी ३९ वर्षीया रमिला विश्वकर्माको । काँडाबारीबाट लुँडिएर पहिरो आयो । मैदानटोलभित्र पहिरोसँगै बग्दै आएको लेदो छि¥यो । कोदोबारी लेदोले भरियो । पसाउँदै गरेको कोदो नष्ट भयो ।

‘माथि गाउँलाई बगाउँदै पहिरो आयो । ढुंगा र लेदो लुँडिएर आयो । बारी ढुंगाले पुरियो । घरभित्र लेदो छिर्‍यो,’ बेघरबार बनेकी विश्वकर्माले भनिन्, ‘घरमा बस्नै नसक्ने भयो । अहिले गोठमा बसिरहेका छौँ ।’

स–साना बालबच्चा सबैलाई उनले गोठमा राखेकी छन् । हरेक रात गडगडाउँदै वर्षा हुन्छ । गोठमा रातभर पानी चुहिन्छ । एकातिर पहिरोले फेरि बगाउला भन्ने चिन्ता छ, अर्कोतर्फ चिसोका कारण बालबच्चा बिरामी हुने डर छ । उनले भनिन्, ‘पानी मात्रै पर्न छाडे पनि आनन्द त हुन्थ्यो ।’

जोखिम सूचीमै थिएनन् काँडाबारी र मैदानटोल
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित र प्रभावित गरी २५ जिल्लाका एक हजार एक सय दुई वटा बस्तीमा पहिरोको जोखिमबारे अध्ययन गरेको थियो । तर, अध्ययनको सूचीमा काँडाबारी र मैदानटोल समेटिन सकेनन् । सरकारको नजर पुगेन, पहिरोले बस्ती नै बगाइदियो ।

काँडाबारीको सिरानमा रानीवन भीर छ । सोही भीरको आड हुँदै बग्छ, सिम खोला । भीरभन्दा माथि धाप छ । केही वर्षअघिदेखि नै धापमा धाँजा फाट्न थालेको थियो । १२ वैशाख ०७२ को भूकम्पले धाँजालाई अझ फराकिलो बनायो ।

वर्षाको पानी त्यही धाँजामा जम्यो, जसबाट भीर दिनप्रतिदिन कमजोर बन्दै थियो । २२ भदौभन्दा केही दिनअघिदेखि घनघोर वर्षा भयो । भीरबाट माटो बग्न थालेको देखेर काँडाबारीका बासिन्दा त्रसित बने । र, घरमा बस्न उचित देखेनन् ।

त्यसैले उनीहरू रात बिताउन गोठमा जान्थे । उज्यालो भएसँगै खाना पकाउन र खान मात्र घरमा आउँथे । नभन्दै २२ भदौ बिहान ४ बजे भीरबाट गडगडाउँदै पहिरो आयो । ढुंगा र माटोको लेदोले सिमखोला उर्लिन थाल्यो । हेर्दाहेर्दै काँडाबारीका नौ घर पहिरोमा बिलाए । बगेको लेदोले मैदानटोलका घर पनि भरिए । स्थानीय बासिन्दा भने बालबाल बाँचे ।

‘रात बिताउन गोठमा जाने गरेकैले हामी बाच्यौँ । नत्र सबैको एकै चिहान हुने थियो,’ काँडाबारीका कुमार थामी (३२ वर्ष) ले भने । पहिरो प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका दोलखाका सांसद एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले काँडाबारी र मैदानटोल दुवै तत्काल स्थानान्तरण गर्नुपर्ने बताए । ‘पहिरोको स्रोत हेर्दा रोकिनेजस्तो देखिँदैन ।

त्यसैले यहाँ घर बनाएर बस्नु सुरक्षित हुँदैन,’ मन्त्री गुरुङले भने, ‘जतिसक्दो चाँडो बस्ती नै सार्नुपर्छ । समस्याको दीर्घकालीन समाधान यही हो ।’ त्यसका लागि पहल भइरहेको र संघीय सरकारले बस्ती सार्ने जिम्मा लिने उनले बताए ।

अवलोकनमा गएका पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले पनि बस्ती स्थानान्तरण गर्नुको विकल्प नभएको बताए । उनका अनुसार त्यसका लागि उपयुक्त ठाउँको खोजी भइरहेको छ । ‘दुवै बस्ती जोखिममा छन् । जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्छ,’ उनले भने, ‘तर, ठाउँको अभाव छ । उपयुक्त ठाउँ भेटिनासाथ स्थानान्तरणको प्रक्रिया अगाडि बढ्छ ।’

पहिरो गएको ११ दिनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङ राहत लिएर गाउँ पुग्दा स्थानीयवासीमा आशा सञ्चार भएको देखिन्थ्यो । राहत वितरणमा भएको ढिलाइप्रति भने उनीहरू बेखुस थिए । तत्काल एकीकृत बस्ती निर्माण थालेर पहिरोपीडितको समस्या समाधान हुने आश्वासन मन्त्री गुरुङले दिए ।

वर्ष दिनअघिका पहिरोपीडित पहिरोमै
१७ साउन ०७६ मा दोलखाकै गौरीशंकर गाउँपालिकास्थित जुगुँमा गएको पहिरोले आठ घरपरिवारलाई विस्थापित बनायो । तर, उनीहरूलाई अझै अन्यत्र सारिएको छैन । सोही कारण पीडित परिवार पहिरो पन्छाएर पुरानै स्थानमा घर बनाई बस्न थालेको गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीले जानकारी दिइन् ।

‘उनीहरू जोखिममा छन्, स्थानीय सरकारको पहलबाट मात्रै बस्ती स्थानान्तरण गर्न सकिँदैन । प्रदेश र संघीय सरकारलाई भनेका छौँ । काम अझै हुन सकेको छैन,’ उनले भनिन् । पहिरोबाट विस्थापितको पुनस्र्थापनाका लागि विदेशमा बस्ने नेपालीले १८ लाख रुपैयाँ जुटाएर पठाए । त्यो पनि खर्च हुन सकेको छैन । ‘त्यो रकम बैंकमै छ । बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा नभेटिएकाले काम गर्न सकिएन,’ उपाध्यक्ष थामीले भनिन् ।

दोलखाका दुई बस्ती उच्च जोखिममा
१२ वैशाख ०७२ को भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीबारे अध्ययन गर्‍यो । जोखिमपूर्ण देखिएका बस्ती स्थानान्तरण प्रक्रिया पनि अगाडि बढायो । प्राधिकरणले दोलखाका चार स्थानीय तहका पाँच वटा बस्तीलाई स्थानान्तरण सूचीमा राखेको थियो ।

ती बस्तीका ९९ घरपरिवारलाई स्थानान्तरण गर्नुपथ्र्यो । तीमध्ये ६० घरधुरीलाई सारियो, बाँकी २९ घरधुरी भने जोखिमयुक्त ठाउँमै बस्दै आएका छन् । कालिञ्चोक गाउँपालिका–८ मलेपुस्थित गैरागाउँ र भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीको बोसिम्पाका बासिन्दालाई अझै अन्यत्र सारिएको छैन ।

प्राधिकरणले भीमेश्वर–१ बोसिम्पाका ८४ र ५ घोक्सिलाकादुई, कालिञ्चोक–८ मलेपुका आठ, गौरीशंकर–५ सुरीका दुई र ७ मार्बुका दुई, बैतेश्वर–१ गगरटोलको एक घरधुरीलाई सार्नुपर्ने भनेको थियो । तीमध्ये बोसिम्पाका ६० घरधुरीलाई मात्र सारिएको छ । भूकम्पका कारण कालिञ्चोक–८ सुनखानी मलेपु सबैभन्दा बढी जोखिममा परेको बस्ती हो ।

२६ परिवार घरबारविहीन
बागमती प्रदेश सांसद पशुपति चौलागाईंका अनुसार काँडाबारी गाउँमा थामी समुदायका नौ घर थिए, ती सबै पहिरोले बगायो । घरआसपास थिए, उनीहरूको जीवन धान्ने बारी । ती सबै बगरमा बदलिए । काँडाबारीभन्दा तल मैदानटोल छ ।

त्यहाँका १५ भन्दा बढी घरमा लेदो भरिएको छ । बारीमा ढुंगा थुप्रिएको छ । ‘विस्थापित परिवारमध्ये केही गोठमा त केही आफन्तको शरण परेका छन् । केहीलाई भने गाउँकै देउराली प्राविमा राखिएको छ,’ सांसद चौलागाईंले भने, ‘पहिरोले दुई सय ४७ घरलाई प्रभावित तुल्याएको छ । २६ घरपरिवार पूर्ण विस्थापित भएका छन् । ३२ घरमा आंशिक क्षति पुगेको छ । उद्धारका लागि प्रदेश र संघीय सरकारको विशेष पहलविना केही गर्न सकिँदैन ।’

सरकारको प्राथमिकतामै पर्दैन पहिरो नियन्त्रण
पहिरो नियन्त्रण संघ र प्रदेश सरकारमातहतका कार्यालयहरूको प्राथमिकतामै नपर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । संघ र प्रदेश सरकारबाटै बजेट विनियोजन भएर आउने भएका कारण चाहेअनुसारको सहयोग गर्न नसकिएको सरकारी अधिकारीहरू नै बताउँछन् ।

जिल्लाका लागि विनियोजित बजेटको झन्डै ५० प्रतिशत मात्रै योजनामा खर्च हुने गरेको भूसंरक्षण कार्यालय सिन्धुपाल्चोकअन्तर्गत दोलखा प्रतिनिधि सुरेश दाहालले बताए । बाँकी वातावरण र कृषकको जीविकोपार्जनमा खर्च गर्नुपर्ने प्रावधान भएकाले पहिरोपीडितलाई सोचेजति सहयोग गर्न नसकिएको उनको भनाइ छ ।

‘चालू आर्थिक वर्षमा अख्तियारीप्राप्त भएको दुई करोडमध्ये एक करोड योजनाका नाममा आयो । त्यसको ५० प्रतिशत कृषकको जीविकोपार्जन, क्षमता अभिवृद्धिलगायत शीर्षकमा खर्चिनुपर्छ,’ दाहालले भने, ‘बाँकी ५० लाखले जिल्लाभरको पहिरो नियन्त्रण गर्नुपर्छ । गर्नुपर्नेमध्ये एकतिहाइ पनि काम गर्न सकिँदैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्