धाँधली र गुण्डागर्दी गर्नेहरुलाई भौतिक कारबाही, बागी उमेद्वार उठे साधारण सदस्य समेत खारेजी


२७ माघ । सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ मा हुने स्ववियु निर्वाचनमा सकेसम्म एक्लै जित्न कोशिष गर्ने र त्यो अवस्था नभए मात्र अरु विद्यार्थी संगठनहरुसँग मिलेर जित्ने कोशिश गर्ने रणनीति बनाएको छ । अनेरास्ववियुले आफ्नो घोषणापत्रमै सो कुराको उल्लेख गरेको छ । .

‘हामो सगठन देंशको सबैभन्दा ठूलो, लोकप्रिय र शक्तिशाली विद्यार्थी संगठनको रुपमा स्थापित छ,’ अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले भने, ‘स्ववियु निर्वाचनको परिणामको विश्लेषण गर्दा सबैभन्दा धेरै क्याम्पसहरुमा हामीले एक्लै विजय प्राप्त गर्दै आइरहेका छौ भने कतिपय क्याम्पसमा हामी मुख्य प्रतिस्पर्धिको रुपमा छौं । अहिलेको स्थिति हेर्ने हो भने हाम्रो पार्टीप्रतिको आकर्षण ह्वात्तै बढेको र त्यसको प्रभाव विद्यार्थीहरुमा पनि परेका कारण हामीले चुनाव जित्न अझ सहज हुनेछ ।’

अनेरास्ववियु विद्यार्र्थीहरुको बीचमा लोकप्रिय र सशक्त रहेको भन्दै सो विद्यार्थी संगठनले प्रतिस्पर्धिहरुको अवस्था अत्यन्तै कमजोर रहेको आंकलन गरेको छ । ‘हामीले अधिकांश ठाउँमा एक्लै जितिने सम्भावना छ,’ आचार्यले भने, ‘त्यसका लागि महत्वपूर्ण तयारी र प्रयास गर्नुपर्छ ।’ अनेरास्ववियुले सम्भव भएसम्म अरु विद्यार्थी संगठनहरुलाई प्रमुख प्रतिद्वन्दीको विरुद्ध सहयोग लिने रणनीति समेत बनाएको छ ।

त्यसैगरी अनेरास्ववियुले धाँधली र गुण्डागर्दीलाई असफल पार्ने रणनीति समेत बनाएको छ । ‘विगतको हाम्रो अनुभवमा धाँधली र गुण्डागर्दीले चुनावलाई प्रभावित पार्ने गरेको छ । यसको परिणाममा तलमाथि पार्ने गरेको छ,’ अनेरास्ववियुका प्रवक्त सुदिप शर्माले भने, ‘अहिले पनि यो सम्भाबना बाँकी नै छ । त्यसैले धाँधली र गुण्डागर्दीलाई परास्त गर्न विशेष चनाखो बन्न आवश्यक छ । हामीले त्यही अनुरुपको रणनीति बनाएका छौँ ।’

शर्माले दिएको जानकारी अनुसार क्याम्पस–क्याम्पसमा स्वंयमसेवक समुह निर्माण गरी आवश्यक प्रशिक्षण दिने, धाँधली गर्ने सम्भावित पक्षलाई मानसिक दवाव दिने, सम्भव, जरुरी र उपयुक्त भएमा धाँधली र गुण्डागर्दी गर्नेहरुलाई भौतिक कारबाही गर्नेसम्मका रणनीति अनेरास्ववियुले अघि सारेको छ । सम्भव भएमा धाँधली र गुण्डागर्दीका विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुलाई गोलबद्ध गर्नेसम्मको रणनीति अनेरास्ववियुले अघि सारेको छ । धाँधली र गुण्डागर्दीका विरुद्धमा विद्यार्थीहरुलाई सचेत र आक्रामक बनाउने रणनीति पनि अनेरास्ववियुले अघि सारेको छ ।

उम्मेदवार छनौट सम्बन्धि विशेष निर्देशन
अनेरास्ववियुले उम्मेदवार छनोटमा पनि विषेश ध्यान दिने भएको छ । उमेद्वार चयन गर्दा स्ववियुको पदका लागि मात्र मरिहत्ते गर्ने व्यक्ति भन्दा पनि क्याम्पसमा निरन्तर क्रियाशील, विद्यार्थीहरु माझ अन्यन्तै लोकप्रिय, जिम्मेवारी कुशलताका साथ बहन गर्न सक्ने क्षमता भएको,संगठनलाई बलियो बनाउन अहोरात्रक्रियाशील व्यक्तिलाई नै उच्च प्राथमिकता दिने अनेरास्ववियुको तयारी छ । विगत स्ववियुमा निर्वाचित भएर हालसम्म पनि निरन्तर क्रियाशील भएको व्यक्तिलाई प्राथमिकता दिने अनेरास्ववियुको तयारी छ ।
उम्मेदवारको यस्तो छ मापदण्डः
१. क्याम्पस कमिटीको बैठक बसी अधिकतम सहमतिका आधारबाट उमेद्वार चयन गर्नुुपर्नेछ । उमेद्वार चयन गर्दा कुनै अप्ठ्यारो वा विवाद उत्पन्न भएमासंगठनबाट जिम्मेवारी प्राप्त व्यक्ति,सम्बन्धित जिल्लाको संगठन अध्यक्ष, सम्बन्धित क्याम्पस कमिटी अध्यक्ष, आवश्यकता अनुसार स्थानिय पार्टी नेतृत्व, क्याम्पस भित्रका पार्टी निकट प्राध्यापक, कर्मचारी र सञ्चालकहरुको समेत सुझावका आधारमा उमेद्वारहरुको अन्तिम टुङ्गो लगाइने छ ।
२. उमेद्वार चयन गर्दा स्ववियुको पदका लागि मात्र मरिहत्ते गर्ने व्यक्ति भन्दा पनि क्याम्पसमा निरन्तर क्रियाशील, विद्यार्थीहरु माझ अन्यन्तै लोकप्रिय, जिम्मेवारी कुशलताका साथ बहन गर्न सक्ने क्षमता भएको,संगठनलाई बलियो बनाउन अहोरात्र क्रियाशील व्यक्तिलाई नै उच्च प्राथमिकता दिनुपर्नेछ साथै विगत स्ववियुमा निर्वाचित भएर हालसम्म पनि निरन्तर क्रियाशील
छन भने उनीहरुलाई पनि प्राथमिकता दिइनेछ ।
३. उमेद्वार चयन गर्दा क्याम्पस भित्र अध्यापन हुने सम्पुर्ण संकाय र तह साथै महिला, जनजाती, दलित, मधेशी, पिछडिएको क्षेत्र लगायतको अधिकतम समावेशीताको सुनिश्चितता गर्ने विषयमा विशेष ध्यान दिनुपर्नेछ ।
४. उमेद्वार छनौट गर्दा कुनै पनि प्रकारको समुहगत मनोविज्ञानबाट प्रेरित भई निर्वाचन गर्ने कुरालाई पूर्णत निषेध गरिएको छ ।
५. संगठनको आधिकारीक र संस्थागत ढंगले उमेद्वारी दर्ता भईसके पश्चात त्यसका विरुद्ध संगठनकै नाम दुरुपयोग गर्दै कोही कसैले बागी उमेद्वारका रुपमा आफूलाई उभ्याउने कोशिस गर्दछ भने त्यस्ता व्यक्ति र तिनलाई सघाउने वा उस्काउने जो कसैलाई पनि तत्काल संगठनको साधारण सदस्यताबाट समेत निश्कासन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्