धुर्मुस–सुन्तलीको ‘गिरानचौर सपना’


असार २ । पुरानो बानेश्वर ओरालोको गुरुकुल नजिक रहेको कार्यालयमा पुग्दा सिताराम कट्टेल (धुर्मुस) पहिलो न्युजका प्रतिनिधि कै प्रतिक्षामा थिए । पारिवारिक कामले दिउँसो तीन बजे बाहिर निस्कनु पर्ने भएकाले उनले कुराकानीका लागि दुई बजेको समय दिएका थिए । बुधवारको दर्के झरीमा भिज्दै धुर्मुसको कार्यालय पुगेपछि केही मिनेट अनौपचारिक कुराकानी भयो ।

त्यसपछि उनीसँग गिरानचौर सपनाका बारेमा औपचारिक कुराकानी थालियो । करिब आधा घण्टाको औपचारिक बसाईमा धुर्मुस–सुन्तलीको गिरानचौर सपनाबारे सिताराम पहिलो न्युजसँग यसरी खुलेः

हाम्रो गिरानचौर सपना भूकम्प पीडितका लागि घर निर्माण गर्ने मात्र होइन । हामीले गिरानचौरमा ६५ घर–परिवारका लागि घर निर्माण गर्दैछौँ । यो देश विकासको समग्र खाका पनि हो । गाउँले परिवेशमा चिटिक्क परेका चारकोठे ती घरले एकातिर गिरानचौरको शोभा बढाउने छन् भने अर्कोतिर आन्तरिक र बाह्रय पर्यटनका लागि पनि गिरानचौर गन्तव्य बन्ने छ । हामीले ‘प्लान’ गरेका ती घर बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री बन्ने छन् । त्यहाँ ‘कवर्ड’हल निर्माण हुने छ । चार कोठे ती घरको माथि बुइकल पनि हुनेछ ।

हाम्रो गिरानचौर सपना भूकम्प पीडितका लागि घर निर्माण गर्ने मात्र होइन । हामीले गिरानचौरमा ६५ घर–परिवारका लागि घर निर्माण गर्दैछौँ । यो देश विकासको समग्र खाका पनि हो ।

त्यहाँ उनीहरुले आ–आफ्ना सामनहरु राख्न सक्नेछन् । अपाङ्गता भएकाहरु सबै यो बस्तीमा आरामसँग हिँडडुल गर्न सक्नेछन् । हामी सिङ्गो देश नै बालमैत्री बनाउँनु पर्छ भनेर हिँडेका छौँ, हामी त्यसका अभियन्ता पनि हौँ । त्यसै कारण त्यो बस्ती बालमैत्री नै बनाउँने योजना बनाएको हो । हामी शासकीय स्वरुप पनि बालमैत्री हुनुपर्छ र त्यसो भयो भने त्यहाँ चोरी, डकैती, बालदुराचारका घटनामा कमी आउँछ भन्ने खालका जनचेतना मूलक अभियान समेत सञ्चालन गर्दै आएका छौँ । अवश्य पनि यो बस्ती पनि यही अवधारणा अनुरुप अघि बढ्ने छ ।

गिरानचौर बस्तीका धारा बालमैत्री बन्नेछन् । ढोकाका छिर्केनी बालमैत्री बन्ने छन् । बालबालिकाका लागि त्यहाँ बालउद्यान र बगैँचा पनि बन्नेछ । मुख्य बाटो २८ फुटे, शाखा बाटो १४ फुटे हुने छ । यो पनि हामीले मापदण्ड अनुरुप नै बनाउने छौँ । हामीले गरेको बस्तीको परिकल्पना अनुसार दमकल, एम्वुलेन्स सहजै ओहोर–दोहोर गर्न सक्नेछन् । अझ् महत्वपूर्ण कुरा यो बस्तीमा निर्माण गरेका घर भूकम्प प्रतिरोधी हुने छन् ।

यही बस्ती भित्र हामीले सामूदायिक भवनको पनि परिकल्पना गरेका छौँ । त्यो सामूदायिक भवनमा त्यहाँका स्थानीयहरुले चाहेका बेलामा सभा–सम्मलेन गर्न सक्नेछन् । त्यो भबन भित्र हामीले बस्ती निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुको विवरण खुल्नेगरी परिचय राख्ने छौँ । सहयोग गर्ने दाताहरुलाई त्यो देखेपछि आनन्द हुनेछ । हामी स्वच्छ र पारदर्शिताको लडाईँ लडिरहेका व्यक्ति पनि भएकाले त्यहाँ हामीले सबै आय–व्ययको विवरण खुल्ने गरी राख्ने छौँ ।

अराई–पराईले देश चल्दैन

हामी अराई–पराईले देश चल्दैन भन्ने मान्यतामा विश्वास गर्छौ । त्यसैले गिरान्चौर बस्तीमा हामी आफैँ खट्ने छौँ । ‘आफैँ खटेपछि मात्र देश बन्छ’ भन्ने सन्देश हामी गिरानचौरबाट दिन चाहन्छौँ । हामीले यस अघि पनि काभ्रे जिल्लाको पहरी बस्तीबाट त्यो सन्देश दिइसकेका छौँ । हामी गिरानचौरमा पनि श्रमदान गर्छौ । यो बस्तीलाई हामी आन्तरिक र बाह्रय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गैरहेका छौँ । सरकारले आगामी दिनमा मापदण्ड भित्रको पर्यटकीय बस्ती कहाँ छ ? भनेर खोज्दा गिरानचौर नै हो भन्ने बनाउन चाहन्छौँ ।

हामी यहि योजना अनुरुप अघि बढेका छौँ । एकीकृत बस्ती विकासको नमूना पनि गिरानचौर नै बन्ने छ । यो एकीकृत बस्ती विकासका लागि नेपाल सरकारले स्वीकृति गरेको पहिलो परियोजना हो । नेपाल सरकार राष्ट्रिय भूकम्प पुनर्निमाण प्राधिकरण, स्थानीय विकास मन्त्रालय र धुर्मुस–सुन्तली फाउण्डेशनको त्रिपक्षीय सम्झौतामा यो परियोजना अघि बढेको हो ।

सुरु भयो, चुनौती धेरै छन्

हामीले भर्खर मात्र वस्ती निर्माणका लागि गिरानचौरलाई सम्याउने काम सम्पन्न गरेका छौँ । हामीले त्यहाँ पहिरो नजाने गरी निकै बलियो ढंगले बस्ती निर्माणको अभियान अघि बढाएका छौँ । हामीले त्यो बस्तीलाई ‘होमस्टे’का रुपमा विकास गर्ने योजना बनाएका छौँ । त्यहाँ पुग्ने पर्यटकलाई खाने–बस्ने जस्ता सुविधा हुने छ । उनीहरु घरमा बस्नेछन् । घरमा पाकेको जे–जस्तो छ खाने छन् ।

यसले आन्तरिक र बाह्रय पर्यटनलाई विकास गर्न अझ टेवा पुग्ने अनुमान गरेका छौँ । त्यहाँ पाहुना घरको पनि व्यवस्था गरिएको छ । गिरानचौर सुख्खा ठाउँ हो । त्यहाँ पानीको एकदम अभाव थियो अहिले त्यहाँ सिंचाईको व्यवस्था गरेका छौँ । निकै तल रहेको खोलबाट बस्तीसम्म पानी पु¥याउने व्यवस्था गरेका छौँ । बस्तीमा विद्यूत विस्तारको काम पनि भएको छ । त्यो तामाङ् बस्ती हो । त्यसैले हामीले त्यो बस्तीमा तामाङ समूदायको कला–संस्कृति झक्किने गरी केही व्यवस्था गर्ने योजना बनाएका छौँ । हामी नेपाललाई सिङ्गापुर वा स्वीजरल्याण्ड होइन नेपाललाई नेपाल बनाउँने योजनामा छौँ । गिरानचौर बस्ती त्यसको थालनी हो ।

त्यो तामाङ् बस्ती हो । त्यसैले हामीले त्यो बस्तीमा तामाङ समूदायको कला–संस्कृति झक्किने गरी केही व्यवस्था गर्ने योजना बनाएका छौँ ।

क्लीन सीटी र ग्रीन सीटी

हामीले अझ भन्ने हो भने क्लीन सीटी र ग्रीन सीटीको अवधारणा अनुरुप यो योजना अघि बढाएका छौँ । हामीले बस्ती बसालेको त्यो क्षेत्रमा गाई–बस्तु, बंगुर–कुखुरा केही पनि पाल्न पाइँदैन । यसो भन्दा गाई–बस्तु, बंगुर–कुखुरा केही पनि पाल्न पाइँदैन भने त्यहाँको आयस्रोत के ? भन्ने प्रश्न उठ्न सक्छ । त्यसको पनि समाधान गर्ने गरी त्यो बस्ती भन्दा केही पर सबैका गोठ निर्माण हुनेछन् । त्यहाँ उहाँहरुले गाई–बस्तु, बंगुर–कुखुरा सबै पाल्न सक्ने सुविधा हुन्छ ।

यसरी पुग्यौँ  गिरानचौरमा

सुन्तली र म नेपाल सरकारबाट सरसफाई दूत घोषणा भएपछि नेपालका धेरै जिल्लामा सरसफाई अभियान लिएर पुग्यौँ । त्यसैबेला हामीले एकीकृत नमूना बस्ती बसाल्न कुन–कुन ठाउँ उपयुत्त होलान भनेर खोज्दै गयौँ । हामीले योजना बनाउँदा–बनाउँदै जाडो महिना सुरु भयो । हामी फेरि भूकम्प पीडितहरुलाई कम्मल बोकेर बाँड्न गयौँ । हामीलाई त्यो अभियान एक प्रकारको अध्ययन पनि भयो । त्यो अध्ययनले गिरानचौर नै उपयुक्त स्थान हो भन्ने लाग्यो ।

हाम्रो परिकल्पना साकार गर्ने ठाउँ गिरानचौर नै हो भनेर हामी त्यहाँ पुग्यौँ । राजनीतिले गिजोलिएको हाम्रो देशमा विकास निर्माण गर्न निकै कठिन छ । राम्रा काम गर्न स्थानीय राजनीतिज्ञहरु र राजनीतिलाई पेशा बनाएर हिडेकाहरुले राम्रो काम गर्न दिदैँनन् । उचाल्ने–पछार्ने प्रवृत्तिले पनि त्यहाँ समस्या हुन्छ । कतिपय ठाउँमा त अहिले पनि विकास गर्ने भनेको पार्टी, नेता र सरकारले नै मात्र हो भन्ने भ्रम छ । ती भ्रमलाई चिरेर अघि बढ्न झन् कठिन छ । तर, गिरानचौर मात्रै त्यस्तो ठाउँ हो । त्यहाँ स्थानीय राजनीतिले पनि हामीलाई निकै ठूलो साथ दिएको छ । मेलम्ची नगरपालिकाका पूर्णप्रसाद दुलालको पनि सहयोग निकै महत्वपूर्ण रह्यो । त्यहाँ स्थानीय राजनीतिज्ञहरुको सहयोग पनि अतुलनीय रहेकाले हामीलाई काम गर्न थप सहज भएको छ ।

आर्थिक व्यवस्थापन

यो परियोजना धुमुर्स–सुन्तली फाउण्डेशनले अघि बढाएको हो भन्ने कुरा सबैलाई जानकारी नै छ । मैले अघि माथि पनि उल्लेख गरेको छु । हाम्रो आर्थिक पाटो निकै पारदर्शी छ । हामी पारदर्शी ढंगले अघि बढ्न चाहन्छौँ । अहिले भर्खर मात्र हाम्रो खर्च विवरण सार्वजनिक हुन थालेको छ । हाम्रो लागत अनुमान चार करोड ७५ लाखको छ तर अन्तिम सम्ममा ५ करोड भन्दा माथि खर्च लाग्न सक्ने अनुमान हामीले गरेका छौँ । सुन्दरतालाई पहिलो प्राथमिकता दिने तयारी भएकाले पनि केही खर्च बढ्न सक्ने अनुमान छ ।

हाम्रो लागत अनुमान चार करोड ७५ लाखको छ तर अन्तिम सम्ममा ५ करोड भन्दा माथि खर्च लाग्न सक्ने अनुमान हामीले गरेका छौँ ।

हामीलाई आवश्यक पर्ने बजेट पूरा भएपछि पत्रकार सम्मेलन नै गरेर अब हामीलाई सहयोग पुग्यौ भनेर जानकारी गराउँने छौँ । त्यसपछि पनि दाताहरुले सहयोग गर्ने इच्छा राख्नु भयो भने त्यो फाउण्डेशनका नाममा रहने छ र त्यो रकम त्यस्तै काममा खर्च हुनेछ । हामीले खर्च विवरण पारदर्शी बनाउन पेज बनाएका छौँ । सबै विवरण हामीले त्यहाँ उल्लेख गर्दै आएका छौँ र अन्तिमसम्म पनि त्यो प्रक्रिया निरन्तर हरने छ । सकेसम्म हामी अनुमानित बजेट भन्दा कममा सक्न पाए हुन्थ्यो भन्नेमा छौँ ।

कहिले हुन्छ पूरा ?
हामी दिन–रात नभनी काम गर्ने छौँ । हाम्रो योजना घटस्थापनाका दिन हस्तान्तरण गर्ने छ । काम गर्दागर्दै नसकिने अवस्था आयो भने फेरि हामी मिति तोकेर छिट्टै हस्तान्तरण गर्ने छौँ ।

प्रतिक्रिया दिनुहोस्