धुर्मुस–सुन्तलीको चौथौ प्रयासः पाँच करोड लगानीमा बाढी पीडितका लागि रौतहटमा एकीकृत नमूना बस्ती बन्दै


३० भदौ । मानवीय सेवामा समर्पित ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले बाढी पीडितहरुका लागि रौतहटमा एकीकृत नमूना सन्तपुर बस्ती निर्माण गर्ने गर्ने भएको छ । ५ करोड ७५ लाखको लगानीमा फाउण्डेशनले ‘धुर्मुस सुन्तलीले एकीकृत नमूना सन्तपुर बस्ती’ बनाउने भएको हो ।

‘तराईमा अविरल बर्षापछि आएको बाढी र डुवानबाट पीडित बनेका तराईबासीहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ,’ फाउण्डेशनका प्रमुख सिताराम कट्टेल (धुर्मुस)ले भने, ‘राहत बितरणसँगै बाढी पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका छौँ ।’ उनले रौतहटमा एकीकृत बस्ती निर्माण गर्ने पक्का भएको पनि जानकारी दिए ।

‘बाढीपीडितहरुका लागि राहत बितरणमा सक्रिय भईरहँदा तराईको समस्यालाई नजिकबाट हामीले नियालेका थियौँ, उनले भने, ‘स्थलगत अध्ययन र अवलोकनपछि फाउण्डेशनले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा गरेका हौँ ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा बसोवास गरिरहेका छन् । बस्तीमा माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास छ । वर्षौदेखि गरिबीको चेपेटामा परेका उनीहरुको अवस्था अविरल बर्षाका कारण पूरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बन्न पुग्यो,’ उनले भने, ‘उक्त क्षेत्रका दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयनीय रहेकाले हामीले त्यो स्थान रोजेका हौँ ।’

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमूना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भूकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरी १ शौचालय, धारा र बगैंचासमेत निर्माण हुनेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासीय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुनेछ ।

फाउण्डेशनले बाढी पीडितहरुका लागि निर्माण गर्ने यस बस्तीका लागि सहयोग गर्न सम्पूर्णसँग आग्रह गरेको छ । कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीले पनि बस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ र सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । फाउण्डेशनले दिएको जानकारी अनुसार छिट्टै बस्ती शिल्यान्यास गरि निर्माण कार्य सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्