धुर्मुस–सुन्तली अढाई करोड जुटाउन तल्लिन


२ फागुन । काभ्रेपलान्चोकको पहरी बस्ती र त्यसपछि सिन्धुपाल्चोकको भूकम्प पीडित गिरानचौरमा सामुहिक बस्ती बसाल्न उल्लेख्य भूमिका खेलेका चर्चित हास्य–जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को आँखा केही समयअघि तराई–मधेसको विपन्न मुसहर बस्तीमाथि पयो । हिउँद–वर्षा झुपडीमा बस्दै आएका मधेसका विपन्न मुसहर बस्तीमा उज्यालो छर्ने अभियानस्वरुप धुर्मुस–सुन्तलीले बर्दिवास नजिकैको मुसहर बस्तीमा एकीकृत नमुना बस्ती बसाल्न पहल पनि गरे । उनीहरुको यो कार्यको सर्वत्र प्रशंसा भयो ।

तर, २०७४ साल वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्य बोकेर तीव्र गतिमा निर्माण भइरहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि भने ती कलाकार–जोडीलाई आर्थिक संकट परेको छ । सो मुसहर बस्ती निर्माण गर्न अढाई करोड रकम अपुग भएको जनाइएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले सोमबार बिहान सो कुराको जानकारी गराएका हुन् ।

सो ठाउँमा पचास घर मुसहर परिवारका लागि बस्ती बसाल्न लागिएको हो । गएको पुस २५ गते नै वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास गरिएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको र उक्त कार्यका लागि दुई करोड विभिन्न माध्यमबाट सङ्कलन भइसकेको अध्यक्ष धुर्मुसले बताए । अपुग रकम सहयोगका लागि उनले हरेकसँग सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।

जसरी भए पनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत फाउन्डेसनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्