धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको कोरोना पोजिटिभ,मन्त्रालयको टोली अस्पतालमा


काठमाडौँ, ३ जेठ । धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस पोजिटिभ देखिएको छ।

आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको थियो। धुलिखेल अस्पतालका एक चिकित्सकले श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरस पोजिटिभ भएको जानकारी दिए। शिक्षण अस्पतालमा सिजरिङबाट डेलिभरी भएपछि उनको डिस्चार्ज भएको थियो।

बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो। उनलाई बाह्रबिसेस्थित स्वास्थ्य केन्द्रमा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो। श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई धुलिखेल अस्पताल भर्ना गरिएको हो। उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पनि संक्रमण पुष्टि भएको धुलिखेल अस्पताल स्रोतले जानकारी दियो। तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

अहिले धुलिखेल अस्पतालका उनको उपचारमा संलग्न सबैको स्वाब परीक्षण गर्नुका साथै उनीहरुलाई आइसोलेसनमा राखिएको छ।

त्यस्तै उनको डेलिभरी भएको टिचिङ अस्पतालमा पनि उनको शल्यक्रिया र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको टोलीलाई स्वाब परीक्षण गरिएको हो। ती महिलाको थप कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्