नक्कली ‘अडिटर’को बिगबिगी, पक्राउ गर्न प्रहरीमा उजुरी


१० असार । प्रमाणपत्र नक्कली भएका ३७ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआइबीले पक्राउ गरेको खबरले यतिबेला हल्लीखल्ली मच्चिएको छ । तर, त्यस्तै समस्या रहेको लेखापरीक्षण क्षेत्रमा सीआइबीले हात हाल्ला कि नहाल्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने लेखा व्यवसायमा पनि नक्कलीहरुको बिगबिगी रहेको छ । कुनै पनि कम्पनीको लेखापरिक्षणजस्तो काम नक्कली ’अडिटर’बाट हुँदा त्यसले समग्र नेपाली लेखा व्यवसायीहरुलाई नै असर गरिरहेको छ ।

लेखा व्यवसायी नै भन्छन्, ’नक्कली जरुर फन्दामा पर्छन्’
लेखा व्यवसायलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले नक्कली अडिटरहरुलाई कारवाही गर्न नसकेको जनगुनासो आइरहेका बेला नक्कली डाक्टर प्रकरणले उनीहरुको ध्यान प्रहरीतिर तानिएको छ । ’साथीहरुले प्रहरीमा उजुरी गरिसकेका छन् । प्रहरीले पनि केही समयमै यसबारे अनुसन्धान थाल्ने बताएको छ । नक्कली अडिटरहरु प्रहरीको फन्दामा पर्ने निश्चित छ’ आफ्नो नाम नबाताउने सर्तमा एक लेखापरीक्षकले बताए । उनका अनुसार, नक्कली डाक्टर तथा नक्कली पाइलटहरु पक्राउ परेका बेला नक्कली अडिटरहरुको विवरणसहित प्रहरीमा उजुरी परेको छ । त्यसैले प्रहरीले ती नक्कली अडिटरहरुलाई पक्राउ पर्ने निश्चित छ ।

पाँच सयभन्दा नक्कली अडिटर
लेखा व्यवसायीहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का अनुसार नेपालको सन्दर्भमा चार्टर्ड एकाउन्टेन्ट (सीए) र रजिस्टर्ड अडिटर (आरए) गरी दुईखाले लेखापरीक्षकहरु हुन्छन् । जसलाई नेपाली लेखा व्यवसायलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले लाइसेन्सको रूपमा सर्टि्फिकेट अफ प्राक्टिस (सीओपी) दिने गर्छ, जसको आधारमा लेखापरीक्षकले कुनै पनि संस्थाको लेखापरीक्षण गर्न पाउँछन् । यस्तो इजाजत नै नभएकाहरुले पनि आफुलाई अडिटर भएको भन्दै लेखापरिक्षणको काम लिने गरेका छन् । स्रोतका अनुसार यस्ता लेखापरीक्षकहरु नेपालमा पाँच सय भन्दा बढी छन् । ’कसले कारवाही गर्ने नक्कली अडिटरहरुलाई ? आइक्यानमै कार्यरत केही कर्मचारीका आफन्तसमेत यस्तो धन्दामा लाग्ने गरेका छन् । यसको उजुरी प्रहरीमा गरिएको छ । अव प्रहरीले कस्तो कारवाही गर्ने हो, त्यो भने हेर्न बाँकी नै छ’, नयाँ बानेश्वरमा लेखापरीक्षण फर्म सचालन गरेर बसेका अर्का एक सीएले बताए ।

यसकारण नक्कली अडिटरको बिगबिगी
कुनै पनि कम्पनीले लेखापरीक्षण गराउनु अनिवार्य हुन्छ । कुनै पनि सरकारी काम गर्दा वा संस्थागत रूपमा बैंकसँग विभिन्न काम गर्दा वा संस्थागत रुपमा ऋण लिँदा विभिन्न ठाउँमा अनिवार्य रूपमै लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ‘यसरी चाहिने लेखापरीक्षण प्रतिवेदनमा साना कम्पनीको अडिटरसँग पहुँच नहुँदा वा सक्कली लेखापरीक्षकसँग चिनजान नहुँदा यस्ता नक्कली लेखापरीक्षणको बिगबिगी बढेको हो । सेवाग्राहीलाई सेवा चाहिने हो । उसले त्यो काम गर्न पाउँछ वा पाउँदैन भन्ने खासै हेक्का हुँदैन । छाप अरूको नाममा भए पनि मतलब हुँदैन । नक्कली अडिटरले आफ्नै हिसाबले त्यसको व्याख्या गरिदिएको हुन्छ,’ लेखापरीक्षक रमेश थापाले भने ।

आइक्यानले उचित नियमन नगर्दा सक्कली लेखापरीक्षकलेनै नक्कली लेखापरीक्षकलाई आफ्नो छाप भाडामा दिने गरेका छन् । आफ्नो कीर्ते सही गर्न पनि छुट दिएका छन् । यसबापत मासिक वा वार्षिक रुपमा सक्कली लेखापरीक्षकले तोकिएको भाडाबापतको रकम लिने गर्छन् । विशेषगरी आइक्यानबाट लेखापरीक्षण गर्ने इजाजत पाएका तर आफ्नै व्यवसाय गरेकाले यसरी भाडामा आफ्नो छाप प्रयोग गर्ने दिने गरेको अर्का लेखा परीक्षक एस थापा बताउँछन् ।

कानुन व्यवसायी पनि नक्कली अडिटर !
नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी चलाएर बसेका ईश्वर श्रेष्ठ भन्छन्, ‘मैले त लेखा परीक्षणलगायत सबै काम गर्न एकजना वकिललाई विगत तीन वर्षदेखि लगातार लगाइरहेको छु । लेखा बनाउने कामदेखि कर चुक्ता ल्याउने कामसम्म उसैले गरिरहेको छ ।’ आफैं लेखा बनाउनु र आफैं लेखापरीक्षण गर्नु गैरकानुनी भएको थाहा नभएको बताउँदै उनी भन्छन्, ‘हामीलाई कसले के काम गर्न पाउँछ भन्ने मतलब हुँदैन । हामीलाई त काम भए पुग्यो ।’ आफूले चिनेका साथीको कम्पनीको काम पनि वकिलले नै गर्ने गरेको बताउँदै उनले कसले के काम गर्न पाउँछ भन्ने हेक्का राख्न आफूहरुलाई आवश्यक नरहेको समेत जिकिर गरे ।

अझ बजारमा केही नक्कली अडिटरहरुले त आफैं बोक्सी आफैं झाँक्रीको शैलीमा समेत काम गर्ने गरेका छन् । कुनै पनि लेखापरीक्षकको काम भनेको व्यवस्थापनले बनाएको लेखा ठीक छ वा छैन भनेर आफ्नो सुझाव दिने हो । तर, बजारमा रहेका यस्ता नक्कली लेखापरीक्षकले विभिन्न संस्थाहरुको लेखा समेत आफैँ बनाइदिन्छन् । अडिटर रमेश थापा भन्छन्, ‘आफैँले बनाएको लेखाको आफूअनुकूल व्याख्या गरी प्रतिवेदन बनाउँदा, लेखा परीक्षण गर्नुको खास अर्थ नै भएन । सीमित उद्देश्यका लागि मात्र चाहिने प्रतिवेदनमा मनपरी हुँदा त्यसले दीर्घकालीन रुपमा नेपालको अर्थतन्त्रमै असर गर्छ ।’

आइक्यानले सजग गराउँछ तर नीति छैन
लेखा व्यवसायको नियम गर्ने निकाय आइक्यानको नीतिअनुसार आइक्यानको सदस्यता नलिएका जो–कोहीले आफ्नो नामको अगाडि सीए लेख्न पाउँदैनन् । तर, अरुलाई भन्दा सीए हुँ भन्न पाइँदैन भन्ने नियम हुनु असम्भव भएका कारण पनि यसखाले गैरसीएहरुले आफूलाई सीए भएको भन्दै अनावश्यक फाइदा लिइरहेका छन् । यता यसखाले गैरसीएहरुले ल्याएका कामहरुमा केही हजार लिएर सहीछाप लगाउने आफ्ना सदस्यलाई पनि आइक्यानले कारबाही गर्न सकेको छैन । आइक्यान सम्बद्ध एक सीए भन्छन्, ‘आइक्यानले यसबारे जनचेतना फैलाउन नसकेका कारण यस्तो भइरहेको छ ।’

यता केही समयअघि कन्सलटेन्सीहरुलाई लेखापरीक्षण सम्बन्धी काम गर्ने भन्दै बिज्ञापन नगर्न समेत आइक्यानले निर्देशन दिएको थियो । तर, बिज्ञापन नगरी मनपरी गर्ने काममा भने कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्