नयाँ फलामे डण्डी उद्योग स्थापना


रूपन्देही, १९ असोज । रूपन्देहीमा नयाँ फलामे डण्डी उद्योग स्थापना भएको छ । तीन अर्ब लगानीमा ‘श्री स्टिल’ उद्योग स्थापना भएको हो । अर्घाखाँची सिमेन्ट ग्रुपको लगानीमा भैरहवाको धकधईमा उक्त उद्योगको भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा रहेको छ ।
आगामी एक महिनाभित्र उद्योगले उत्पादन सुरु गरी बजारमा ल्याउने उद्योगका म्यानेजर रमन आर्चायले जानकारी दिएका छन् । उनले भने, ‘हामी सकेसम्म एक महिनाभित्रै उत्पादन बजारमा ल्याउने तयारीमा छौं, केही ढिला भए डेढ महिनाभन्दा पछि जाँदैन ।’
नेपालमै सबैभन्दा ठूलो अटोमेटिक प्लान्ट जडित उद्योग भएकाले अन्य डण्डी उद्योममा जस्तो धेरै कामदार आवश्यक नपर्ने उनले बताए । सुरुमा तीन अर्ब लगानी भए पनि बढाउँदै लगिने उनले बताए । अर्घाखाँची सिमेन्ट ग्रुपको लगानी रहेको यो उद्योग रूपन्देही र नवलपरासीको सिमाना पर्ने धकधईमा स्थापना भएको छ ।
उद्योगको मासिक १५ हजार टन उत्पादन क्षमता छ । त्यस्तै रूपन्देहीको पडसरीमा चैत महिनादेखि फेरो स्टिल’ नामक उद्योग सञ्चालनमा आएको छ । व्यव्सायी माधव श्रेष्ठले प्रमोदकुमार काबरासँगको साझेदारीमा रूपन्देहीमा ‘फेरो स्टिल’ उद्योग स्थापना गरेका हुन् । उद्योगको क्षमता दैनिक २ सय टन छ । उत्पादित फेरो स्टिल बजारमा आइसकेको छ । उद्योगको स्थिर पुँजी करिब ५० करोड रहेको ।
रूपन्देही श्री स्टिल र फेरोसँगै फलामे डण्डी उत्पादन गर्ने उद्योगको संख्या ७ पुगेको छ । यी उद्योगमा ५ देखि ७ करोडसम्म लगानी भएको सञ्चालकले बताएका छन् । भैरहवामा रहेको अम्बे स्टिल, पञ्चकन्या, गोयन्का, एसआर एभरोललगायत उद्योग सञ्चालनमा छन् ।
यी उद्योगमा २ हजारभन्दा बढीले रोजगारी पाएका छन् भने दैनिक १५ सय टनभन्दा बढी डण्डी उत्पादन हुनेगरेको सञ्चालकले बताएका छन् । रूपन्देहीमा दैनिक १ एक सयटन खपत हुने गरेको रूपन्देही हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्