नयाँ शक्तिमा ‘ठूलै पहिरो’ जाने संकेत


२६ साउन । संविधान जारी भएलगत्तै तत्कालीन एनेकपा (माओवादी) बाट विद्रोह गरेर वैकल्पिक राजनीतिक धार निर्माण गर्न जुटेका डा. बाबुराम भट्टराईले केही समय नेपाली राजनीतिमा नौलो तरंग ल्याए । अरु राजनीतिक दलका असन्तुष्ट नेता–कार्यकर्ता, पूर्वप्रशासकहरु, वाम बुद्धिजीवि, कलाकर्मीलगायतलाई बटुलेर नयाँ शक्ति गठन गरे । नयाँ शक्ति, नेपालको राजनीतिमा नयाँ शक्ति नै बन्ने संकेत देखियो ।

तर, अपेक्षा गरेअनुरुप नयाँ शक्तिले गति लिन सकेन । कमजोर हुँदै गएपछि नयाँ शक्ति छाड्नेहरुको ताँती नै लाग्न थाल्यो । नयाँ शक्ति छाड्नेहरुको ताँती लाग्न थालेपछि संघीय समाजवादी फोरमसँग एकता गरेर जाने प्रयत्न पनि पदीय बाँडफाँडमा कुरा नमिलेपछि त्यत्तिकै सेलायो । अहिले डा. भट्टराई विस्तारै एक्लिँदै गइरहेका छन् ।

तराई–मधेसमा आफ्नो राजनीतिक टेको लगाउन डा. भट्टराईले उभ्याएका नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झाले पनि सो दलसँग पारपाचुके गर्ने संकेत पछिल्ला दिनहरुमा दिएका छन् । एमाले, एमाओवादी हुँदै पछिल्ला दिनहरुमा डा. भट्टराईलाई सहयोग गर्दै आएका झाले नयाँ शक्ति परित्याग त गरिसकेका छैनन् । तर, नयाँ शक्तिमा रहेर राजनीतिक भविष्य उज्यालो हुने छाटकाँट नदेखेपछि झा पुरानै पार्टी एमालेमै फर्किने सम्भावना तीव्र बनेको छ । केही समययता झाले एमालेका उच्च तहका नेताहरुसँग एमालेमा फर्किँदा ‘सम्मानजनक स्थान’ खोजेबाटै उनको पुनः एमालेमै फिर्ती हुने सम्भावना बढेको हो ।

नयाँ शक्तिका सहसंयोजक झालाई मधेस र अल्पसंख्यक हेर्ने जिम्मा दिइएको छ । संविधान जारी भएपछि मधेसी जनताका असन्तुष्टिलाई सम्बोधन गर्न जनकपुर पुगेका डा. भट्टराईलाई झाकै योजनाअनुरुप त्यहाँ लगिएको थियो । तर, तत्कालीन मधेसी मोर्चाका कार्यकर्ताले डा. भट्टराईको जनकपुर आगमनका क्रममा संविधान जारी गर्ने मतियारमध्येकै एक भएको भन्दै विरोध जनाएपछि काठमाडौं फर्किएका थिए । जनजाति हेर्ने जिम्मा पाएका नयाँ शक्तिकै अर्का सहसंयोजक महेश कोर्मोचाले भने केही महिनाअघि नै नयाँ शक्ति परित्याग गरिसकेका छन् ।

एमालेमा छँदा विभिन्न कारणले असन्तुष्ट रहेकै कारण नयाँ शक्तिमा आबद्ध रहेका एमालेका कार्यकर्ताहरु पनि पुनः एमालेमै फर्किसकेका छन् । नयाँ शक्ति गठन गर्ने भनिए पनि डा. भट्टराई र अरु नेताहरुले पूर्वमाओवादी र पूर्वएमाले भनेर कित्ताकाँट गरेकै कारण पूर्वएमाले नयाँ शक्तिका अधिकांश कार्यकर्ताहरुले सो दल त्यागेर एमालेमै प्रवेश गरिसकेका छन् ।

माओवादी केन्द्रले पनि नयाँ शक्तिमा रहेका पूर्वमाओवादीहरुलाई तान्ने प्रयत्न गरिरहेको बुझिएको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘नयाँ शक्तिमा रहेका पूर्वमाओवादीहरु माओवादी केन्द्रमा फर्किने’ कुरा सार्वजनिक रुपमै बताएका थिए । अध्यक्ष दाहालले त डा. भट्टराईसँग एकताको प्रस्ताव नै राखिसकेका छन् । पछिल्ला दिनमा माओवादी शक्तिहरु मिल्नुको विकल्प नभएको कुरा अध्यक्ष दाहालले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्