नयाँ शक्तिमा पहिरो जाँदै


२ मंसिर । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, नेपालले संघीय लोकतान्त्रिक फोरमसँग एकता गर्ने हल्ला चलाए पनि नयाँ शक्तिमा भने चाहिँ ठूलै पहिरो जाने संकेत देखिएको छ । खासगरी, नयाँ शक्तिलाई तराई–मधेसमा स्थापित गर्ने मधेसी नेताहरुले सो पार्टी छाड्ने मनस्थिति मात्र बनाएका छैनन्, अरु पार्टीका नेताहरुसँग बाक्लो भेटघाट गर्न थालेपछि यस्तो संकेत देखा परेको हो ।

नयाँ शक्तिका नेता रामचन्द्र झाले केही समययता एमालेमै फर्किने सोच बनाएको बुझिएको छ । एमाले छाडेर एमाओवादी हुँदै नयाँ शक्तिमा गएका झाले एमालेका माथिल्लो तहका नेताहरुसँग चाँडै नै छलफल गर्ने तयारी गरिरहेको थाहा भएको छ । झाले केन्द्रीय तहका केही एमाले नेताहरुलाई भने आफू एमालेमै फर्किने सोचमा रहेको हुँदा त्यस किसिमको वातावरण बनाउन आग्रह गरेका छन् । एमालेले सम्मानजनक हैसियत दिए एमालेमै फर्किएर काम गर्ने मनस्थितिमा झा पुगेको स्रोतले बतायो ।

यसैगरी, एमाओवादी हुँदै नयाँ शक्तिमा गएका जनकपुरकै एमाले कार्यकर्ता तथा नाट्यकर्मी रमेशरञ्जन झा पनि एमालेमै फर्किने मनस्थितिमा छन् । उनले एमालेका केही केन्द्रीय तहका नेताहरुलाई एक दुई पटक नै भेटेर आफू एमालेमा फर्किन तयार रहेको बताइसकेका छन् । तर, हिजो एमाले छाडेर गएकाहरुलाई कुन जिम्मेवारी दिने भन्नेमा केही टुंगो नलागिसकेको हुँदा फर्किने मनस्थिति बनाएकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न यथावत नै रहेको छ ।

नयाँ शक्तिले भने संघीय लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो हैसियत दिनेगरी एकता गर्ने तयारी गरिरहेको बताइन्छ । यादव पनि दोस्रो हैसियत पाए एकता गर्ने सुरमा छन् । तर, एमाले छाडेर संघीय समाजवादी हुँदै यादवको पार्टीसित एकता गर्न पुगेका अशोक राईलगायतका नेतालाई भने ती दुई पार्टीको एकता महँगो पर्ने देखिएको छ । साथै, नयाँ शक्तिको यही मंसिर ६, ७ र ८ गते हुने केन्द्रीय समितिको बैठकमा ती दुई पार्टीबीचको एकताबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्