नयाँ शक्तिमा भाँडभैलो, भारतको डिजाइनमा बाबुरामले संविधान असफल बनाउन खोजेको आरोप


१६ चैत । डाक्टर बाबुराम भट्टराईले नेतृत्वको गरेको नयाँ शक्ति नेपालमा एकपछि अर्को गर्दै असन्तुष्टिहरु चुलिदैँ जान थालेका छन् । पूर्व प्रशासक, कलाकार र विभिन्न पार्टी परित्याग गरेका वा कारवाहीमा परेकहरुलाई जम्मा गरेर गठन गरेको नयाँ शक्तिमा पछिल्लो समय केन्द्रीय परिषद् सदस्य एवं देब लिम्बुलगायतले नेतृत्वको खुलेरै आलोचना सुरु गरेका छन् ।

नयाँ शक्ति नेपालको जारी केन्द्रीय परिषद्को बैठकमा उनीहरुले फरक मत राख्न खोज्दा बाबुरामले नदिएपछि उनीहरुले खुलेरै नेतृत्वको आलोचना सुरु गरेका छन् । एकातिर पार्टी छाड्नेको लहर चलेको छ भने अर्कोतिर पार्टी भित्रै पनि असन्तुष्टहरुको संङ्ख्या वृद्धि हुन थालेपछि बाबुराम अहिले थप अप्ठ्यारोमा परेका छन् ।

सोलुखुम्बु लगायतका जिल्लामा नयाँ शक्तिलाई शून्य बनाएर नेतृत्व नै एमालेलगायतका दलमा प्रवेश गर्न थालेपछि आत्तिएका बाबुरामलाई अहिले पार्टी भित्रकै असन्तुष्टहरुलाई मिलाउन हम्मे–हम्मे परेको छ । केही दिन अघि मात्रै केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई, हरिराम रिमाल, मोहन बम र चन्द्रदेव ओझालगायतले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर डा. भट्टराईले स्थानीय तहको निर्वाचन रोक्नुपर्ने भनी विज्ञप्ति निकालेपछि त्यसको विरोध गरेका थिए ।

त्यही बाहनामा पार्टीले स्पष्टिकरण सोधेपछि उनीहरु पार्टी परित्यागको अवस्थामा पुगेका छन् । अहिले पार्टीभित्रै बाबुरामको चर्को विरोध भएपछि कलाकार करिश्मा मानन्धर लगायतका केही सानो समुहले मात्र बाबुरामको बचाउन गर्न थालेका छन् । मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् बैठकमा संयोजक डा. भट्टराईले असहमत विचार राख्न नदिएपछि लिम्बुलगायतले नेतृत्वको निरंकुश शैलीको कटाक्ष सुरु गरेको बताएका छन् ।

‘डाक्टर साबले फरक मत राख्नु पार्टी अनुशासन विपरीत भएको भन्दै हामीलाई आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको भनी टिप्पणी गर्नुभयो,’ लिम्बुले भने, ‘उहाँले अनुशासनहिनहरुलाई छुट नदिइने भन्दै हामीलाई कारबाहीको संकेत गर्नूभएको हेरौँ ।’ बाबुरामले आफ्नो विरोध गर्न हैसियत चाहिन्छ भन्दै हैसियत नै नभएकाहरुले गरेकोे विरोध आफूलाई मान्य नहुने भन्दै आफ्नै पार्टीका नेताहरुलाई होच्याउने काम गरेको उनीहरुको आरोप छ ।

फरक मत राख्न खोज्नेहरुप्रति संकेत गर्दै बाबुरामले ‘कतैबाट परिचालित र मेरो विरोध गर्नकै लागि ल्याइएको प्रस्तावमा छलफल हुन सक्दैन’ भन्दै आलोचना गरेको पनि उनीहरुको आरोप छ । ‘नयाँ शक्ति भत्काउनका लागि प्रायोजित फरक मत राख्न पाइँदैन,’ भट्टराईको भनाई उध्रित गर्दै एक सदस्यले भने, ‘भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्नेहरुलाई पार्टी छाड्न ढोका खुला छ । गए हुन्छ ।’

लिम्बूले बाबुरामको नेतृत्वमा पार्टीले जातिवादी, साम्प्रदायिक र भारतपरस्त विचार बोकेको भन्दै प्रस्ताव दर्ता गरेका थिए । बैठकको अघिल्लो दिन सोमबार बाबुरामले लिम्बू समर्थक निर्मल भट्टराई, चन्द्रदेव ओझा, मोहन बम, हरिराम रिमाल लगायतलाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसैगरी जिल्ला–जिल्लामा लिम्बू समर्थक कार्यकर्तालाई बाबुराम पक्षले स्पष्टिकरण सोध्ने, पार्टीबाट निष्काशित गर्ने काम गरिरहेको उनको लिम्बू समूहको आरोप छ ।

लिम्बूले आफ्नो प्रस्तावमा बाबुराम पक्षले लिएको लाइनको कडा विरोध गर्दै लेखेका छन्– ‘नयाँ शक्तिले बाटो विरायो । आर्थिक समृद्धिको एजेण्डालाई भन्दा पूराना शक्तिहरुले उठाउँदै आएका जातीय क्षेत्रीय एजेण्डामा ठक्कर खान पुग्यौं । पहिचान र अधिकारको खोलभित्र साम्प्रदायिकता बोकेका शक्तिहरुसँग हामी जोडियौं ।’

संविधान भत्काउने भारतीय डिजाइनमा बाबुरामले काम गरेको आरोप पनि उनले लगाएका छन् । ‘संविधान कार्यान्वयन नयाँ शक्तिको मुख्य एजेण्डा हुनुपर्नेमा संविधान भत्काउनुपर्छ भन्नेहरुसँग जोडियो,’ लिम्बूको फरकमत उल्लेख छ, ‘भारतीय हस्तक्षेप अझ बढेर गएको छ र भारतले नेपाललाई जातीय रुपमा विभाजन गर्न चाहेको, जातीय द्धन्द बढाउन खोजेको प्रष्ट देखिन्छ ।’ लिम्बूले खुलेरै भारतको नियतलाई नयाँ शक्तिले सघाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्