नविनाको रोजाईमा वर्तौला परेपछि अखिलमा खैलाबैला


काठमाडौँ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले उपाध्यक्ष महेश वर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि अहिले अनेरास्ववियु भित्र खैलाबैला मच्चिएको छ । लामा संघीय संसद्को सांसद् निर्वाचित भएपछि स्वतः राजिनामा दिएर नेतृत्वको लागि बाटो खुला गर्न दवाव आइरहेका बेला लामाले वर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि खैलाबैला मच्चिएको हो । पछिल्लो समय लामाले राजिनामा दिएपछि उपाध्यक्षहरु रश्मि आचार्य, महेश वर्तौला, शैलेश लामा, सुनिता बरालसँगै महासचिव ऐन महर र सचिव सुदेश पराजुलीले समेत अध्यक्षको आकांक्षा देखाउँदै आएका छन् । पराजुली बाहेक सबै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिन्छन् । त्यसमा पनि महासचिव महरले आफूलाई ओलीको सबै भन्दा विश्वास पात्रका रुपमा रहेको दाबी गर्दै आएका छन् भने बराल पनि आफू ओलीको सबै भन्दा निकट भएको दाबी गर्दै आएकी छिन् ।

mahesh234
आचार्य र वर्तौला भने प्रधानमन्त्री ओलीको नाम बेचेर अखिलमा ठेकेदारी गर्ने परम्पराको अन्त्य हुनुपर्ने दाबी गर्छन् । उनीहरुले प्रधानमन्त्री ओली सबै नेपालीका साझा भएको भन्दै एक वा दुई जनालाई वोकेर हिड्ने फुर्सद उहाँलाई नभएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै हिडेका छन् ।

नविनाले वर्तौला छान्ने संकेत गरेपछि सुनिता ठस्किइन्

लामाले पछिल्लो समय अरुको तुलनामा वर्तौलालाई नै बढी च्यापेपछि उपाध्यक्ष बराल सबै भन्दा बढी रुष्ट बनेकी थिइन् । केही दिन अघि मात्र राजधानीमा अखिलको एक विभागले आयोजना गरेका एक कार्यक्रममा लामाले आफू सांसद् भएको भन्दै वर्तौलालाई अध्यक्षता गर्न लगाएपछि कार्यक्रममा उपस्थित वराल रातोपिरो हुँदै बाहिरिएकी थिइन् ।
अखिलका केही नेताहरु भने लामाको रोजाईमा वर्तौला छन् भन्ने आफूहरुलाई पहिला नै थाहा भएको बताउँछन् । ‘अध्यक्ष विदेश गएको अवस्थामा वा अन्य त्यस्तै कारण भए मात्र कार्यवाहक दिनु पर्ने विधानमा उल्लेख छ,’ एक सचिवालय सदस्यले भने, ‘तर, उहाँले स्वदेशमै रहेको र अन्य विशेष कारण केही नभएकै बेला सल्लाह नै नगरी वर्तौलालाई कार्यवाहक दिने कुरा उचित होइन ।’
अहिले आचार्य छोराको उपचारका लागि दिल्लीमा छन् । महरगायतले भने वर्तौलालाई कार्यवाहक दिएको भन्दै असन्तुष्टि जनाएका छन् । लामाको विवाह यही वैशाख १३ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्