नागपञ्चमी पर्व मनाइँदै


काठमाडौं, ३१ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज पनि मनाइँदैछ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

यसदिन घरघरमा नागको समेत टाँस्ने गरिन्छ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।
यस अवसरमा नक्सालस्थित नागपोखरीमा नागको विशेष पूजा गरिएको छ ।
पोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुङ्गासयर र विभिन्न पसल समेत सञ्चालन गरिएका छन् ।
नागपूजाका लागि स्थानीयवासीले बुधबार पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्