नाचघरबाट प्रचण्डको उद्घोष, ‘सन् २०१८ सम्ममा सबै कम्युनिष्ट एक हुन्छौँ’


११ पुस । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१८ सम्ममा नेपालका सबै कम्युनिष्टहरु एक हुने दाबी गरेका छन् । राजधानीको राष्ट्रिय नाचघरमा कार्ल माक्र्स द्वीशतवार्षिकी राष्ट्रिय समारोहको उद्घाटन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । ‘नेपालका कम्युनिष्टहरुले साझा धारणा बनाएर अघि बढ्नुपर्छ,’ प्रचण्डले भने,’ एउटा लक्ष्यसहित हामी जानसकिन्छ । यसरी हामीले सन् २०१८ सम्ममा शक्तिशाली कम्युनिष्ट निर्माण गर्न सके माक्र्सको पनि सम्मान हुनेछ ।’

निर्धारित समय भन्दा करीब दुई घण्टा ढिलो कार्यक्रममा उपस्थित भएका प्रचण्डले सुरुमै माफी मागेका थिए । मञ्चमा आउने वित्तिकै एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग केहीवेर कुराकानी गरेका प्रचण्ड र नेपाल दुबैले आ–आफ्नो हातको घडी हेरेका थिए ।  त्यसरी दुबैले घडी हेरेपछि प्रचण्ड मुस्कुराएका थिए । समयका परिपक्क नेपालले प्रचण्डलाई केही भनेपछि उनी मुस्कुराएको हुन सक्ने अनुमान सबैले गरेका थिए ।
आधारभूत सिद्धान्त नमान्नेले माक्र्सवादी भन्न मिल्दैन

प्रचण्डले आफ्नो मन्तव्यका क्रममा माक्र्सवादको आधारभू सिद्धान्त नै नमान्नेहरुले माक्र्सवादी भन्ने अधिकार पनि नभएको बताए । ‘माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्न सकेनौँ भने हामीले माक्र्सवादी भन्नुको कुनै अर्थ छैन,’  उनले भने ।

अब हामी हतियार उठाउदैनौँ

प्रचण्डले परिवर्तन लागि शसस्त्र जनयुद्ध ठीक भएको भन्दै आफूहरुले हतियार नउठाएको भए संविधानसभाको पहिलो निर्वाचनमा पहिला पार्टी बन्न नसक्ने दाबी गरे । ‘कांग्रेस र एमालेले पनि पहिला हतियार उठाएकै हुन्, हामीले पनि हतियार नउठाएको भए प्रतिष्पर्धा गर्न नै मुस्किल हुन्थ्यो,’  उनले भने, ‘हतियार उठाएर ठूलो पार्टी बन्दा त यस्तो प्रतिष्पर्धा गर्न मुस्किल भएको छ । हतियार नउठाएर सानो पार्टी भएको भए के हालत हुन्थ्यो ?’

प्रतिक्रिया दिनुहोस्