नाम्लो लगाएर माओवादीले काँग्रेसलाई बोकेको ओलीको आरोप


२८ वैशाख । नेकपा (एमाले)ले चितवनमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय निर्वाचनको मिति आउन तीन दिन मात्र बाँकी रहेका बेला एमालेले चितवन महानगरपालिकामा आफ्नो विजयी सुनिश्चित भएको सन्देश दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रमुख आथित्यमा बिहीबार चितवनमा भएको भव्य आमसभाले त्यही संकेत गरेको हो । हजारौँको उपस्थिति रहेको त्यस सभामा बोल्दै ओलीले विदेशीका अघिल्तिर लम्पसार पर्दा–पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरि घाउ नै घाउ भएको टिप्पणी गर्दा त्यहाँ उपस्थित हजारौँले केहीबेर एकनासले ताली बजाएका थिए ।

भरतपुर महानगरपालिकामा काँग्रेस–माओवादीले संयुक्त रुपमा उम्मेदवार बनाए पनि त्यहाँ बिहीबार उपस्थित सभालाई हेर्दा एमालेले भारी मतले जित्ने संकेत देखिएको छ । चितवनमा काँग्रेस–माओवादीले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्न काँग्रेस सभापति शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड पनि चितवन पुगेका थिए । तर, एमालेको तुलनामा उनीहरुको सभा फितलो देखिएको थियो ।

हजारौँको उपस्थित सभालाई देखेर उत्साहित बनेका ओलीले राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेको पनि दाबी गरे । उनले माओवादी–काँग्रेस गठवन्धनतर्फ संकेत गर्दै नेपाली काँग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए ।

चितवनकै बाँदरमुढे घटनाका घाइते अझै पनि चितवनमै रहेको भन्दै ओलीले भने–‘हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै सुम्लाका डाम छन् ।’

प्रतिक्रिया दिनुहोस्