नारायणकाजीले किन दिए अकस्मात राजीनामा ?


काठमाडौं, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सम्बोधन गर्दै श्रेष्ठले गत शुक्रबारकै केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।
पार्टी नीति विपरित डा. गोबिन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै उनलाई पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टिकरण लिएका थिए । ‘पार्टीको जानकारी बिना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो,, सामाजिक संजालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा श्रेष्ठलाई स्पष्टिकरण लिइएको थियो । अर्का अध्यक्ष प्रचण्डले पनि पार्टीको जानकारीबिना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको भन्दै ओलीको भनाईलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।
राजीनामा दिएर बैठककै बीचमा बाहिरिए श्रेष्ठ
दुवै अध्यक्षले पालैपालो स्पष्टिकरण सोधेपछि श्रेष्ठ मैले किन भेट्न नपाउने ? भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको ती नेताको भनाई छ । ‘त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिए भन्दै लिखित राजीनामापत्र बुझाएर श्रेष्ठ बैठकबाट बाहिरिनुभो’ ती सचिवालय सदस्यले नयाँ पत्रिकासँग भने । श्रेष्ठले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको विवादित भिडियो सार्बजनिक भएपछि पनि उनले गलत काम गरेकाले माफी माग्नुपर्ने र पार्टीको ध्यानाकर्षण हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा धारणा राखेका थिए ।
पार्टीको प्रवक्ताले नै यसरी पाटीृ नीति विपरित गतिविधि गर्न थालेको र व्यक्तिगत धारणा सामाजिक सञ्जालमा व्यक्त गर्न थालेको भन्दै अध्यक्ष ओली उनीसँग असन्तुष्ट थिए । श्रेष्ठले भने अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरुमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरुलाई बताएका छन् । अध्यक्षहरुप्रति असन्तुष्ट श्रेष्ठ गत ८ गते पार्टी कार्यालय धुम्बाराहीमा आयोजित प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको संयुक्त भेलामा पनि अनुपस्थित थिए । सो भेलालाई दुवै अध्यक्षले सम्बोधन गरेका थिए । उच्च स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत जिम्मेवारीमा फर्काउने वाताबरण निर्माणको जिम्मेवारी दिएका छन् । वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले सो जिम्मेवारी दिएका हुन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका प्रवक्ता श्रेष्ठ भने शीर्ष नेताहरुसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ । नयाँ पत्रिकावाट

प्रतिक्रिया दिनुहोस्