नारायणकाजीले निकाले मधेस समस्याका चार कारण


११ असोज । नेकपा माओवादी–केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तराई–मधेसको समस्याका रुपमा चार कारण रहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालको मधेस मामिला समन्वय विभागले आयोजना गरेको ‘मधेसका सवाल र समाधानका उपाय’ विषयक अन्तक्र्रियामा बोल्दै श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

संविधान कार्यान्वयनको पहिलो कार्यभारलाई पूरा गर्ने हो भने तराई–मधेस र थारु समुदायका समस्या समाधानमा राजनीतिक दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा पनि श्रेष्ठले जोड दिए । ‘हामीले तराई–मधेस र थारु समुदायका जनता उत्पीडनमा परेका छैनन् भन्यौँ भने त्यो गलत हुन्छ, उनीहरु उत्पीडनमा परेका छन,’ श्रेष्ठले भने ‘अलिक कालो देख्ने बित्तिकै मदिसे, देसीभाइ भनेर भन्नुको कारण के हो ? नेपालकै तराई भागमा बस्ने नेपाली दाजुभाइलाई देसीभाइ भनिन्छ भने के त्यो उत्पीडन होइन ? इतिहासदेखिको अवशेष अहिले पनि तराईमा रहेको भन्दै त्यो अवशेषको अन्त्य नभएसम्म तराई–मधेसको समस्या समाधान हुँदैन ।’

उनले सार्वभौमिकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर मधेसका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । तराई–मधेसको समस्याको पहिलो कारण इतिहासदेखि नै उनीहरु उत्पीडनमा पर्नु हो,’ उनले भने ‘दोस्रो कारण, मधेसवादी पात्र वा शक्तिलाई बाह्य शक्तिले कार्डको रुपमा दुरुपयोग गर्नु रहेको कारण हो’
उनले तेस्रो कारण मधेसवादी दलहरुले सत्ताका लागि मधेसी जनतालाई भड्काउनु रहेको दाबी गरे भने चौथो कारणमा संविधानमा मधेसी जनताको भावनालाई पनि समावेश गरेका छौँ भन्ने जानकारी गराउन नसक्नु रहेको उल्लेख गरे ।

‘यी चार समस्यालाई हल नगर्ने हो भने तराई–मधेसको समस्या समाधान हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्