नारायणकाजीले भने– ‘हामी भिखारी भयौँ, नेपालमा भारतीय झण्डा हल्लाउन दिएर राष्ट्रवादका कुरा नगरौँ ’


९ असोज । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतीय झण्डा हल्लाउन दिएर राष्ट्रवादका कुरा गर्नुको कुनै तुक नभएको बताएका छन् । राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘हाम्रा अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा सप्तकोसीमा आएको ठूलो बाढीले नेपालको बाटोबाट आवत–जावत गर्न समस्या भएपछि भारतको बाटो गरि सवारी आवत–जावत गर्नुपरेको थियो,’ श्रेष्ठले भने ‘त्यसैबेला विराटनगरमा भारतले फिल्ड अफिस’ राखेको थियो । त्यहाँबाट गाडीले ‘रुट पर्मिट’ लिन्थे । वाढी आएको केही समयपछि नेपालकै बाटोबाट गाडीहरु आवत–जावत गर्न थाले तर, अहिलेसम्म पनि त्यहाँको अफिस हटेको छैन, नेपाली भूमिमा भारतको झण्डा गाडेर पोष्ट खडा गरेर बसेका छन् ।’

प्रचण्डपछि आधा दर्जन बढी प्रधानमन्त्री निर्वाचित भए पनि त्यसबारेमा कसैले प्रश्न नउठाएको भन्दै श्रेष्ठले आक्रोस व्यक्त गरे । ‘मैले माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी ओली प्रधानमन्त्री हुँदा पनि यो कुरा भने,’ कसैले पनि गर्नुभएन ‘अस्ति प्रचण्डजी प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाँदा पनि भने । तर, उहाँले पनि सुन्नु भएन ।’

श्रेष्ठले भारतले आफ्नो रणनीति बनाउन नेपाल सरकारको अनुमति बिना नै हरेक प्रोेजेक्टमा पाँच करोड खर्च गर्ने गरेको दृष्टान्त सुनाउँदै भने– ‘नेपालको बजेट बराबर भारतीय दूतावासले नेपालमा रणनीति बनाउँन खर्च गर्दै आएको छ, कतै विद्यालय बनाएको छ, कतै पुल बनाएको छ । यो विषयमा नेपालका कुनै पनि नेता बोल्दैनन् । अनि कसरी नेपाल संवृद्ध बन्छ ?’

उनले नेपालका सबै नेताहरु भिखारी भएको समेत आरोप लगए । ‘दूतावासमा तपाईँहरुले मनपरी सरकारको अनुमति नलिई खर्च गर्न पाउनु हुन्न भन्ने एक जना पनि नेता छैनन्,’ उनले भने ‘सबैलाई मलाई विद्यालय चाहियो, मलाई पुल चाहियो भनेर भिख माग्न जानुपर्छ अनि कसरी देश बन्छ ?’

उनले परराष्ट नीतिका लागि राष्ट्रिय सहमति आवश्यक भएको पनि बताए । ‘ अहिले विदेश हस्तक्षेप स्वीकार गर्ने मात्र होइन हस्तक्षेप आफ्नो स्वार्थका लागि आमन्त्रण नै गर्ने कारण हामीले केही गर्न सकेका छैनौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्