नारायणकाजी र सुजाताले गरे नेतृत्वको आलोचना, ओली सफल भएको टिप्पणी


१४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदको दौडधुपमा लागि रहेका बेला उनकै पार्टीका एक वरिष्ठ नेताले भने सरकार फेरवदलको आलोचना गरेका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमा खुलेरै ओली सरकारको प्रशंसा गरे । ‘ओली सरकारको नौ महिने काल सफल रह्यो,’ मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल, चीन, भारतसम्बन्ध विषयक विशेष अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले भने, ‘ओली सरकार ढाल्नु पर्ने कुनै कारण थिएन ।’

श्रेष्ठले त्यतिमात्र होइन पछिल्लो समय उनकै पार्टी अध्यक्ष प्रचण्डले आफू सामन्ती राष्ट्रवादका पक्षमा नरहेको भन्दै घुमौरो पाराले ओलीको आलोचना गरिरहेका बेला श्रेष्ठले ती अभिव्यक्तिको पनि खण्डन गरे । ‘नेपाल भारत विरोधी होइन,’ उनले भने, ‘तर, नेपाललाई हस्तक्षेप स्वीकार्य छैन ।’

उनले संविधान भारतले नचाहेकै बेला जारी भएको भन्दै भारतले नचाहे पनि संविधान कार्यान्वयन हुने जिकिर पनि गरे । ‘हामीले संविधान जारी गर्ने बेलामा पनि भारतको आग्रहलाई अस्वीकार गरेकै हो,’ उनले भने ‘अब पनि भारतीय हस्तक्षेपलाई अस्वीकार नै गरेर अघि बढ्छौँ ।’ उनले नेपालले भारत र चीन दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध विस्तार गरेर अघि बढ्ने पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पनि वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहेको जिकिर गरिन् । ‘शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागे,’ उनले भनिन्, ‘वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही थियो ।’

प्रतिक्रिया दिनुहोस्