नार्कका मैनाली कसरी उडे अमेरिका ?


२ कार्तिक । नेकपा माओवादी–केन्द्रका एक कर्मचारी–नेता गैरकानुनी रुपमा अमेरिकामा अध्ययन गर्न गएपछि अहिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भित्र खैलाबैला मच्चिएको छ । माओवादी–केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन, नार्क कमिटीका अध्यक्ष रामप्रसाद मैनाली केही महिनाअघि अध्ययनका लागि अमेरिका उडेका हुन् ।

नार्कका वैज्ञानिक एवं प्राविधिक अधिकृतहरुले उच्च अध्ययनका लागि विदेश जाने अवसर पाउँदै आएका छन् र अधिकांश वैज्ञानिकहरु अध्ययनका सिलसिलामा विदेशतिरै छन् । तर, मैनालीका हकमा भने अचम्म नै भएको छ । मैनाली कीट विज्ञानमा स्नातकोत्तर गर्न अमेरिका गएका हुन् । तर, सोही विषयमा यसअघि उनले कृषि क्याम्पस, रामपुरबाट अध्ययन पूरा गरिसकेका छन् । रामपुरस्थित कृषि क्याम्पसबाट कीट विज्ञानमा एमएस्सी गरिसकेका मैनालीलाई किन त्यही विषयमा एमएस्सी गर्न अमेरिका जाने स्वीकृति नार्कले दियो ? अहिले यो प्रश्न गम्भीर रुपमा उठेको छ ।

रामपुरबाट एमएस्सी अध्ययन पूरा गरेपछि मैनालीले २०७२ सालमा नार्कमा खुलेको वैज्ञानिक पदका लागि आवेदनसमेत दिएका थिए । लिखित परीक्षामा उत्तीर्ण भए पनि अन्तर्वार्तामा भने उनी असफल भएका थिए । तर, एक वर्षअघि वैज्ञानिक पदमा अनुत्तीर्ण भएका मैनालीलाई अहिले भने नार्कको तलबलगायत अन्य सुविधा पाउने गरी अमेरिकामा अध्ययनका लागि पठाइएको छ ।

मैनालीले अमेरिकामा एमएस्सी अध्ययन गर्न जान लागेको बेला नार्कका कर्मचारीहरुले उनले सोही विषयमा नेपालबाट अध्ययन सिध्याएको र अमेरिकामा त्यही विषयमा अध्ययन गर्न पठाउनु गैरकानुनी हुने कुरा जोडदार रुपमा उठाएका थिए । सो कुरा नार्कका कार्यकारी–निर्देशक डा. वाइआर पाण्डेसमक्ष पनि पुगेको थियो । तर, नार्कका वागवानी महाशाखाका निर्देशक यज्ञप्रसाद अधिकारी, प्रशासन महाशाखाका निर्देशक डा. रामचन्द्र अधिकारीलगायतले ‘ मैनालीले नेपालबाट एमएस्सी गरेको हाम्रो रेकर्डमा छैन’ भनेपछि उनका लागि अमेरिका जान सहज भएको बताइन्छ । मैनालीले नेपालबाट एमएस्सी गरेको कुरा कार्यकारी–निर्देशक डा. पाण्डेलाई अवगत भए पनि कृषि विकास मन्त्री माओवादीको भएको हुँदा उनले आँखा चिम्लिदिएको बताइन्छ ।

तर, मैनालीलाई गैरकानुनी रुपमा अमेरिकामा अध्ययन गर्नका लागि स्वीकृति दिने नार्कका कार्यकारी निर्देशक डा. पाण्डे र मैनालीले नेपालबाट एमएस्सी गरेका छैनन् भनेर सिफारिस गर्ने कर्मचारीहरुलाई कारबाही गर्नेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरु मौन रहनु रहस्यको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्