नार्कमा जति भद्रगोल अरु कहाँ हुन्छ र ?


२२ कात्तिक । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भित्र व्यापक रुपमा भेदभाव हुने गरेको पाइएको छ । अरु त परै जाओस्, आफूअनुकूलका कार्यालय प्रमुख र लेखा–प्रमुख भएका कार्यालयहरुमा धेरै बजेट पठाउने र अरु कार्यालयहरुमा कम बजेट पठाउने गरेको पाइएको छ ।

विभिन्न ठाउँमा रहेका नार्कअन्तर्गतका कार्यालयहरुमा मालसामान खरिद, दैनिक भत्ता, ज्यामी ज्याला, ल्यावका सामानहरु आदि शीर्षकमा आफूअनुकूलका कार्यालय प्रमुखहरुले मागेजति रकम दिने प्रवृत्ति झनै बढेर गएको छ । बजेट वितरणमै अनियमितता र मनोमानी देखिन थालेपछि नार्कभित्रै विरोध हुन थालेको छ ।

कार्यालय प्रमुखहरुले मागेजति बजेट पाउने कार्यालयहरुमा इलाम जौबारीस्थित कृषि अनुसन्धान केन्द्र, खुमलटारस्थित बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, नेपालगञ्जस्थित कोसेबाली अनुसन्धान कार्यालय, सुर्खेतस्थित कृषि अनुसन्धान केन्द्र, बाराको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलगायत रहेका छन् ।

विनियम मिच्ने काम

यसैगरी, कृषि तथा पशु विज्ञान क्षेत्रका करिब ३ सयजति वैज्ञानिक र प्राविधिक अधिकृतहरु पलायन भएपछि पदपूर्ति गर्न केही दिनअघि नार्कले सूचना निकालेको थियो । नार्कले निम्न स्तरदेखि विशिष्ट श्रेणीसम्मका पदहरुमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन गरेको थियो । साथै, बढुवाका लागि पनि सूचना निकालेको छ ।

तर, यस पटक पदपूर्तिका लागि सूचना निकाल्दा परिषद्को कर्मचारी प्रशासन विनियमलाई मिच्ने काम भएको छ । नार्कको विनियममा ‘नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थामा काम गरेको अनुभव भएकालाई मात्र मान्य हुने’ भन्ने व्यवस्था उल्लेख छ । तर, यस पटक सूचना निकाल्दा भने अन्तर्राष्ट्रिय संघसंस्था र गैरसरकारी संघसंस्थामा काम गरेका वैज्ञानिकहरुलाई समेत परीक्षामा भाग लिने पाउने व्यवस्था गरिएको छ ।

नार्कले पदपूर्ति र बढुवाका लागि सूचना निकाल्दा कृषि विकास मन्त्री गौरीशंकर चौधरीको दबाबमा एनजीओ र आइएनजीओहरुमा काम गर्ने आफ्नो पार्टी निकटका मानिसहरुलाई जागिर ख्वाउने ध्येयले सो व्यवस्था थप गर्न लगाइएको बताइन्छ ।

आवासगृह नछाड्नेहरु बढे

यसैगरी, उच्च अध्ययनमा जाने वैज्ञानिक र प्राविधिक अधिकृतहरुले आवासगृह नछाड्ने क्रम नार्कमा झनै बढेर गएको छ । अझै पनि केही वैज्ञानिकहरुले आवासगृह प्रयोग गरेर अध्ययन गरिरहेका छन् ।

प्राविधिक अधिकृत राजेन्द्र पौडेल अहिले पक्लिहवा कृषि क्याम्पसमा एमएस्सी अध्ययन गरिरहेका छन् । तर, कुनै पनि कर्मचारीले कार्यालयबाट अध्ययन बिदा लिएपछि आवासगृह छाड्नुपर्ने हुन्छ । तर, उनी भने पदीय दुरुपयोग गरेर नार्कको आवासगृहमा नै बसिरहेका छन् ।

रामपुर कृषि क्याम्पसमा एमएस्सी अध्ययन गरिरहेका राम घिमिरेले पनि आवासगृह नै प्रयोग गरिरहेका छन् । उनीहरु दुवै जना सरकारी आवासगृहमा परिवारसहितै बसिरहेका छन् ।

यसैबीच, भक्तपुर, सानोठिमीस्थित टीआइटीआईमा अध्ययन गरिरहेका आलुबाली अनुसन्धान कार्यक्रमका प्रमुख दूर्योधन चौधरी र सोही कार्यालयका प्राविधिक अधिकृत रमेशकुमार श्रेष्ठले पनि आवासगृह प्रयोग गर्न खोजेका थिए । करिब एक महिनासम्म आवासगृहमा बसेपछि उनीहरुलाई भने छाड्न बाध्य पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्