निजामतीमा एमालेलाई तारो बनाइयो, अध्यक्ष घिमिरे भन्छन्–‘हामीलाई भोट हाल्नेमाथि प्रतिशोध साँधियो’


 

२ असोज । निजामती सेवाका करिब ३ हजार २ सयजना कर्मचारीहरुले सरुवा हुन चाहेका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले भने मापदण्ड विपरीत ७ सय ९२ जना विभिन्न तहका कर्मचारीहरुलाई सरुवा गरेपछि अहिले कर्मचारी संगठनले तीव्र विरोध जनाएको छ ।

सरुवाको तीव्र विरोध गर्नेमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन रहेको छ । सो संगठनले राजनीतिक प्रतिशोधको आधारमा सरुवा गरेको जनाएको छ । एमालेको कर्मचारी संगठनको करिब ५० वटा जिल्लाका विभागीय संयोजकहरुका साथै जिल्लास्थित आधिकारिक ट्रेड युनियनका २० जनाभन्दा बढी अध्यक्षहरुको पनि सरुवा भएको छ । संगठनका अध्यक्ष मोहन घिमिरे भन्छन्–‘अहिलेको सरुवा मापदण्ड अनुरुप भएन । ३ हजारभन्दा बढी कर्मचारीले सरुवा हुनका लागि निवेदन दिएका थिए । तर, ७ सय जनालाई मात्रै सरुवा गरियो । त्यतिमा झार्ने आधार के हो ? भनेर हामीले प्रश्न उठाएका हौं ।’

त्यस्तै, गृह र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट केही उपसचिवलाई सरुवा गरिएकोमा पनि उनले आपत्ति जनाए । ती दुई मन्त्रालयबाट १२ जना उपसचिवको सरुवा भएको छ । सरुवा भएका उपसचिवहरु दुई वर्ष अवधि नपुगेका र कनिष्ट तहका रहेका छन् । घिमिरे भन्छन्–‘सरुवा नै गरेका भए ती मन्त्रालयहरुमा लामो समयदेखि रहेका वरिष्ठहरुलाई गर्नुपथ्र्यो । तर, कनिष्ट र त्यसमा पनि पूरै अवधि नगुजारेकाहरुलाई सरुवा गरियो । यसमा हाम्रो आपत्ति छ ।’ ती मन्त्रालयहरुमा २० वर्षदेखि काम गर्दै आएका कर्मचारीहरुलाई भने चलाइएको छैन ।

घिमिरेका अनुसार, सरुवा भएका कर्मचारीहरु राजनीतिक प्रतिशोधका सिकार भएका हुन् । गएको जेठमा सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा एमालेनिकट कर्मचारी युनियनलाई सघाएका कर्मचारीहरुको व्यापक सरुवा गरिएको छ । मन्त्रालयले सरुवाका लागि अनलाइनमार्फत् निवेदन मागेकामा करिब ३ हजार २ सय जनाले निवेदन दिएका थिए । निवेदन दिएकामध्ये ८४ जना उपसचिव, ६६ जना शाखा अधिकृत, ४२ जना कार्यालय सहयोगी, १ सय ८१ जना खरिदार र २ सय जना नासु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्