निजामतीमा सहमति हुन नदिन नेतृत्व नै सक्रिय


२४ मंसरि । नेपाल निजामती कर्मचारी संगठनको दशौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति विपरीत आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले नै गुटबन्दी गर्न थालेका छन् । संगठनको केन्द्रीय कमिटीको ७५ सदस्यमध्ये बहुमत उनलाई आधिकारिक ट्रेड युनियन (सीबीए) अध्यक्ष बनाउने नहुने अडानमा हुँदाहुँदै पेशागत महासंघको मध्यस्थतामा बैठक बसी दशौं महाधिवेशनमा मोहनकुमार घिमिरे नेतृत्वकै केन्द्रीय कमिटीलाई सर्वसम्मत चयन गर्ने सहमति २०७३ असार ३१ मा भएको थियो ।

उक्त सहमतिमा ढकालले पहिलो हस्ताक्षर गरेका छन् । त्यो हस्ताक्षर गरेको ५ महिना नपुग्दै उनी मंसिर २७ देखि २९ सम्म नेपालगंजमा हुन लागेको महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष केदारसाद देवकोटालाई अध्यक्षमा उठाउन गुटका भेला र बैठक बोलाउन थालेका छन् । बिहीबार मात्र उनले युनियन हाउस अनामनगरमा गुटको भेला बोलाई त्यहाँ देवकोटाको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेका छन् । सीबीएको अध्यक्ष सबै ट्रेड युनियनको साझा नेता हो, तर उनले संगठनभित्र पनि सबैको नेता हुन नसकेको परिचय गुटका भेला र बैठकमा दिन थालेका छन् । उनले केदार देवकोटालाई अध्यक्ष बनाउन देशभरका सीडीओ र जनसम्पर्क हुने कार्यालयका कर्मचारीलाई सीबीएको नाममा आर्थिक सहयोग मागेको आरोप छ । देशभरका प्रमुख जिल्ला अधिकारीसँग पनि उनले आर्थिक सहयोग माग गरेका छन् । सीबीएको अध्यक्ष ढकाल संगठनमा देवकोटा नेतृत्वमा देवकोटाको समूहको आर्थिक संकलनको संयोजक भएर जनसम्पर्क हुने अड्डाहरुमा रकम माग्ने अभियान तीव्र बनाउन थालेका छन् । सीबीएको दादागिरी देखाउँदै देवकोटालाई अध्यक्ष बनाउन भन्दै आर्थिक सहयोग संकलन सुरु गरेको आरोप पनि ढकालमाथि लागेको छ ।

नेपालगंजमा सुरु हुन लागेको महाधिवेशनमा देशभरका संगठनका प्रतिनिधिलाई प्रभावमा पार्नका लागि ढकालले सीबीएको अध्यक्षको मर्यादा नै भुलेको गुनासो कर्मचारी संगठनका एक केन्द्रीय सदस्यले बताए । काठमाडौंको जिल्ला अधिवेशनमा ढकालले सीबीएको अध्यक्षको हैसियत भुलेर केदार देवकोटाको पक्षमा प्रतिनिधि जिताउन खेलेको भूमिकाको भिडियोसहित पेशागत महासंघमा उजुरी परेको छ ।

संगठनका ९० प्रतिशत जिल्लामा सर्वसम्मत ढंंगले नेतृत्व चयन भएको छ । र, ती जिल्लाका प्रतिनिधिले केन्द्रको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्ने पक्षमा छन् । काठमाडौंमा असार ३१ को सहमति पालना गरी सर्वसम्मत नेतृत्व चयन गर्ने र गुटबन्दी अन्त्य गर्ने सहमति भएकोमा त्यस विपरीत जानै नहुने एकाध जिल्लाबाहेकका प्रतिनिधि छन् । तर ढकाल भने जसरी पनि सहमति विपरीत देवकोटालाई उम्मेदवार बनाउने योजनामा साम, दाम, दण्ड, भेदको नीतिका साथ लागेका छन् ।

संगठनको केन्द्रीय भवन उद्घाटनमा बरिष्ठ नेता माधव नेपाललाई बोलाउने बिषयमा आपत्ति जनाउने सीबीएका सदस्य लेखनाथ कोइरालाले राहत पुनस्र्थापना इकाईको कार्यालयमा लेखाका कर्मचारीलाई बोलाउँदै देवकोटा अध्यक्ष र आफू महासचिवमा उम्मेदवार हुन लागेको भन्दै आर्थिक सहयोग मागेको आरोप छ । सीबीएमा गएकाहरु दशौं महाधिवेशनमा संगठनमा उम्मेदवार बन्न नपाउने सहमति असार ३१ मा भएको थियो । तर लेखनाथ कोइराला त्यस सहमति विपरीत केदार देवकोटा समूहबाट संगठनमा उम्मेदवार बन्ने तयारीमा छन् । महालेखाको सरुवामा संगठनका समर्थक सयौं कर्मचारीको हितका लागि भन्दा राहत पुनस्र्थापना इकाईमा लेखापालमा टिकिरहने आफ्नो मात्र स्वार्थपूर्ति गर्ने गरेको आरोप कोइरालामाथि छ ।

प्रतिक्रिया दिनुहोस्