निजामती कर्मचारीमा घिमिरे र देवकोटा प्यानल नै बनाएर निर्वाचनमा, (यस्तो छ उम्मेदवारको सूची)


 २८ मंसिर । नेपाल निजामती कर्मचारी संगठनको दशौ महाधिवेशको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्ने सो महाधिवेशन सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो ।

२०७३ असार ३१ गते पेशागत महासंघको रोहबरमा दशौं महाधिवेशनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेको नेतृत्वलाई सर्वसम्मत गराउने सहमति भएको थियो । तर, आधिकारिक ट्रेड युनियन अध्यक्ष पुण्य ढकालसहितका केही नेताले बरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटालाई अध्यक्षमा उम्मेदवार बनाउने प्रयास गरेपछि सर्वसम्म नेतृत्व छनोट गर्ने प्रयास असफल भएको हो ।

संगठनमा ढकालको विपक्षमा बहुमत हुँदाहुँदै उनलाई आधिकारिक ट्रेड युनियन (सीबीए) को अध्यक्ष बनाई दशौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो । तर ढकालले नै त्यो सहमतिलाई लत्याएपछि निर्वाचन हुने भएको हो । पार्टीले नै गुटवन्धी अन्त्यका लागि सर्वसम्मत नेतृत्व छनोट गर्ने भने पनि कर्मचारीहरुमा भने त्यो लागु हुन सकेन । अहिले पार्टीका नेताहरु नै आ–आफ्नो प्यानललाई विजय गराउन नेपालगञ्जका महंगा होटलमा बसेर योजना बनाइरहेका छन् ।

संगठनका ९० प्रतिशत जिल्लामा सर्वसम्मत ढंगले नेतृत्व चयन भएकाले जतिसुकै बितण्डा मच्चाए पनि घिमिरे नेतृत्वको समूह नै जित्ने निश्चित भएपछि अहिले देवकोटा समूह विभिन्न बाहनामा महाधिवेशन लम्याउने खेलमा लागेको बुझिएको छ । घिमिरे समुहले निर्वाचनमै जाने निश्चित भएपछि आफ्नो प्यानल तयार पारे पनि अहिले देवकोटा समुहलाई टीम छान्न नै धौ–धौ परेको छ । ढुक्क छ । मोहन घिमिरेको समूहबाट बरिष्ठ उपाध्यक्षमा इश्वरी ढकाल र महासचिवमा रेवन्त गौतमको नाम तय भएको छ । महिला उपाध्यक्षमा भुवन राईको नाम तय भएको छ । श्रेणी विहीनमा परमानन्द पौडेल निश्चित भएका छन् ।

प्रदेश उपाध्यक्षमा एक नम्बरबाट जयराम श्रेष्ठ, दुईबाट राजकुमार दास, तीनबाट राजेन्द्र श्रेष्ठ, चार नम्बर प्रदेशको उपाध्यक्षमा घनश्याम सापकोटा, पाँचमा मन्जु कोइराला, छ नम्बरबाट मोहन गिरी र सात नम्बर प्रदेशबाट प्रेमबहादुर सिंह उम्मेदबार बनेका छन् । उपत्यका उपाध्यक्षमा शेखर दाहालको पक्का भएको छ ।  महासचिवमा रेवन्त गौमत छन् भने  शान्तिप्रसाद लुइँटेल, चेतनाथ न्यौपाने र रमेश भण्डारीको नाम फाइनल भएको छ । लेखापरीक्षण आयोगमा मुकुन्द पराजुली, अनुशासन आयोगमा अच्युत अधिकारी अधिकारी र निर्वाचन आयोगमा भरत थापाको नाममा सहमति भएको छ ।

सात सचिवमा भवानी खतिवडा, रामचन्द्र अधिकारी, हरिकाजी राई, जोरासिंहमाझी, भीमबहादुर बिष्ट, यामबहादुर खत्री, सिता गुरुङ रहेका छन् ।  घिमिरेको समुहबाट केन्द्रीय सदस्यमा केदार अधिकारी, देवराज कोइराला प्रकाश राई, शारदा राउत, जीवन भण्डारी, गोकर्ण शर्मा, नानीमैया बस्नेतलगायतको नाममा सहमति जुटेको छ ।

पुण्य ढकाल पक्षले अध्यक्षमा देवकोटा, बरिष्ठ उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा गंगा सुनुवारको नाम तय गरेको छ । महिला उपाध्यक्षमा भवानी दाहाललाई उठाउने तयारीमा छ । उपमहासचिवमा केशवराज जोशी र बिष्णु अधिकारीको नाम चर्चामा ल्याएको छ । देवकोटा समूहले अहिले पनि नाम तय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्