निजामती कर्मचारीलाई चुनाव लाग्यो


२३ कात्तिक  । नेकपा (एमाले)निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठन महाधिवेशन चटारोमा हामिएको छ । यही मंसिर २७, २८ र २९ गते नेपालगञ्जमा दसौँ महाधिवेशन हुने निश्चित भएपछि सो संगठनमा चुनावी चटारो बढेको हो । चुनावको मिति नजिक आएसँगै विभागीय कार्यसमितिहरुमा पनि अधिवेशनको रौनक सुरु भएको छ ।  आगामी महाधिवेशनबाट संगठनको नेतृत्व हात पार्न केही कर्मचारी नेताहरु अहिले कम्मर कसेर लागेका छन् ।

महाधिवेशनको तयारीका लागि  मूल व्यवस्थापन समितिसँगै संगठनको केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको छ । अधिवेशन तयारीका सन्दर्भमा केन्द्रीय समितिले पत्रकार सम्मेलन गरेर संगठनले महाधिवेशन तयारीका सन्दर्भमा भएका प्रगतिबारे जानकारीसमेत दिएको छ ।

संगठनले आगामी १० औं अधिवेशनलाई नेता भन्दा पनि नीतिमा केन्द्रित गरिने र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने अध्यक्ष मोहनकुमार घिमिरेले जानकारी दिए । ‘संघीयतामा सशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुने महाधिवेशन अघि नै मंसिर ४ गतेसम्ममा हरेक जिल्ला तथा विभागीय कार्यसमितिको  अधिवेशन सम्पन्न गरिने घिमिरेले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न २ सय २५ सदस्यीय मूल व्यवस्थापन समिति, अन्य समिति र उपसमितिहरु गठन भएको पनि उनले जानकारी दिए ।

महाधिवेशनमा ८ सय प्रतिनिधी, एक सय पर्यवेक्षक तथा स्वयम्सेवक तथा विभिन्न अन्तराष्ट्रिय संगठनका ५० भन्दा बढी प्रतिनिधीले पनि सहभागिता जनाउने बताइएको छ । भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न अन्तराष्ट्रिय ट्रेड युनियन महासंघका नवनिर्वाचित महासचिवले पनि महाधिवेशनमा सहभागिता जनाउने प्रतिवद्धता जनाएको घिमिरेले जानकारी दिए । महाधिवेशनले गुटबन्दी जरैबाट अन्त्य गर्ने, विधान र नीतिगत विषयमा गम्भिर छलफल गर्ने, एकता, सहमति र संगठन व्वस्थापनको विषयमा केन्द्रित गर्ने बताइएको छ ।

केन्द्रीय समिति बैठकबाट पारित निर्णयहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा महासचिव रेमन्त गौतमले राष्ट्रिय स्तरको ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनबीचको सम्वन्ध हार्दिकतापूर्र्ण बनाउने खाँचो रहेको बताए । आगामी महाधिवेशनमा अध्यक्षका लागि हालका अध्यक्ष मोहन घिमीरे र वरिष्ठ उपाध्यक्ष केदार देवकोटाले प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्