निजामती कर्मचारी संगठनमा अझै कुरा मिलेन, महासचिवले बोलाए बैठक


१८ असार । नेपाल निजामती कर्मचारी संगठनमा २५ प्रतिशत पदाधिकारी र सदस्यहरुले लिखित हस्ताक्षरसहित बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेका छन् । आधिकारिक टेड युनियमा कसलाई पठाउने भन्नेबारेमा कुरा नमिलेपछि संगठनको बैठक नै बस्न सकेको छैन ।

‘नेपाल निजामती कर्मचारी संगठनको विधान, ०६४ (आठौँ संशोधन ०६९) को दफा ३५ को उप–दफा ७, अनुसार २५ प्रतिशत पदाधिकारी र सदस्यले बैठक बोलाउन लिखित माग गरेपछि महासचिव मोहन घिमिरेले यही असार ३० गते बैठक बोलाएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा बहुमतसहित जित हात पारेको संगठनले निर्धारित समयभित्र निर्वाचन कार्यालयमा पदाधिकारी र सदस्यको नामावली पठाउन सकेको छैन ।

punya dhakal
अध्यक्ष पुण्य ढकाल

अध्यक्ष पुण्य ढकालले बैठकलाई निष्कर्षमा नपुर्याएरै स्थगितको घोषणा गरेपछि गत असार २ गतेदेखि संगठनमा विवाद छ । ‘आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्वको लागि नामावली पठाउने विषयको एक मात्र एजेन्डामा छलफल गर्ने मागसहित २५ प्रतिशत सदस्य र पदाधिकारीले लिखित हस्ताक्षर बुझाएपछि असार ३० गतेका लागि केन्द्रीय कमिटीको ११ औँ बैठक बोलाइएको हो,’ महासचिव मोहन घिमिरेले भने, ‘त्यो बैठकले संगठनको विधिविधानभित्र रहेर नामावली छनोट गर्नेछ ।’ उनले सकेसम्म सर्वसम्मत नभए निर्वाचन विधिबाट असार ३० मा नामावलीको अन्तिम टुंगो लगाउने बताए ।

‘निर्वाचन कार्यालयले दिएको म्यादका आधारमा असार ६ गतेसम्ममा प्रमख निर्वाचन अधिकृतको कार्यालयमा पदाधिकारी र सदस्यको नामावली पठाउनुपर्ने थियो,’ एक पदाधिकारीले भने, ‘तर, आन्तरिक विवादका कारण अहिलेसम्म नामावली पठाउन नसकेपछि संगठनकै साथीहरुमा चरम निरासा पैदा भएको छ, अब पर्खिने कुनै संभावना छैन ।’

असार १ र २ गते संगठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्वको लागि नामावली पठाउने विषयमा छलफल गर्न केन्द्रीय कमिटीको दशौँ बैठक बोलाएको थियो । तर, दुबै दिनको कसरत असफल भएको थियो । नामावली पठाउने विषयमै लफडा हुँदा बैठकमा हात हालाहालको समेत अवस्था सिर्जना भएको थियो । ‘बैठकको नेतृत्व अध्यक्षज्युले नै गर्ने हो,’ महासचिव घिमिरेले भने, ‘तर, उहाँले आलटाल गरेपछि समस्या भयो । हामी संगठनलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने मान्यतामा छौँ ।’

mohan ghimire
महासचिव मोहन घिमिरे

महासचिव घिमिरेले अब पनि आलटाल गर्ने हो भने सन्देश नराम्रो जाने भन्दै नेतृत्वलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे । ‘बैठक डाक्ने भनेपछि अध्यक्षज्युलाई रिस उठ्न थाल्छ,’ एक सदस्यले भने, ‘हामीले पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेपछि १४ गते लिखित हस्ताक्षरसहित २५ प्रतिशत साथीहरुले बैठक ठाक्न आग्रह गर्दै अध्यक्षलाई पत्र बुझायौँ । त्यसपछि विधानलाई टेकेर महासचिवज्यूले बैठक बोलाउनुभएको हो ।’ ती सदस्यले पनि विधानभन्दा बाहिर नगई असार ३० मा आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्वका लागि नामावली पठाउने दाबी गरे ।

आधिकारिक निर्वाचनमा उक्त संगठन पहिलो भएपछि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ सदस्यसहित ११ जनाले प्रतिनिधित्व पाउने छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेलले दाबी गरेका छन् । ती मध्ये कसको नाम पठाउने भन्नेमा विवाद चुलिएपछि छनोटमै समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्