‘निपा भाइरसबाट बच्न चमेरो र बंगुरसँग टाढै बसौँ’


काठमाडौ, १३ जेठ । भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ । नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ रोग भित्रिन नदिन तथा भित्रिहालेमा नियन्त्रण गर्न पूर्व तयारी छैन । निपा भाइरस सार्नसक्ने टेरोपस प्रजातिको चमेरो नेपालमा पनि भएको औल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेश सहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सुचीमा राखेको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि निपा भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा निपा भाइरस पत्ता लागेको छैन । दक्षिण एसियामा अहिलेसम्म भारत र बंगलादेशमा मात्र निपा भाइरस देखिएको छ । चिकित्सकहरुका अनुसार यो संक्रमणलाई सबभन्दा पहिले सन १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो । त्यतिखेर फैलिएको इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोपका बेला बङ्गुरपालक किसानहरूमा यो रोग भेटिएको थियो । सो प्रकोपमा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए । प्रकोप रोक्न दश लाखभन्दा धेरै बङ्गुर मारिएका थिए ।

यो भाइरस फैलाउने टेरोपस जातको चमेरो नेपालमा पनि रहेको अनुसन्धानका क्रममा फेला परेको छ । अधिकारीहरुका अनुसार बिएसएल थ्री ल्याबमा स्वाइनफ्लु, जिका, निपा, सार्स र सामान्यतया इबोला भाइरससमेत पत्ता लगाउन सकिन्छ ।
एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो । यो अरू पशुबाट मानिसमा सर्न सक्छ। यो भाइरस खासगरी ुफ्रूट ब्याटु भनिने एक प्रकारको चमेरोमा पाइन्छ।

bats
कसरी बच्ने?
रोग पाइने स्थानमा भएका बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ ।
यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन । लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ ।
खोप छैन
सत्तरी प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले हुनसक्ने ठूलो महामारीको सम्भावित कारकका रूपमा सूचीकृत गरेका दश घातक रोगमा निपा भाइरस संक्रमण पनि पर्दछ।

प्रतिक्रिया दिनुहोस्