निममित स्कुल चलाउँदै एमाले, विद्यार्थीपछि युवालाई साताव्यापी ‘क्लास’


१० भदौ । अध्ययन संस्कृति हराउँदै गएका बेला नेकपा (एमाले) ले जनवर्गीय संगठनहरुका नेता–कार्यकर्तालाई पढाउन थालेको छ । पहिलो चरणमा अनेरास्ववियुका नेता–कार्यकर्तालाई पढाएको पार्टी स्कुल विभागले अहिले युवा संघका नेता–कार्यकर्ताालाई पढाइरहेको छ ।

केही हप्ता पहिला ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानका रहेको स्कुल विभागको सभाकक्षमा आयोजना गरेको एक हप्ते प्रशिक्षणमा अनेरास्ववियुका सचिवलय सदस्यसम्मका ५० जना सहभागी थिए ।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालय सदस्यहरुलाई भदौ ७ गतेदेखि सुरु गरेको प्रशिक्षणमा हरेक दिन ३५ देखि ४० जनासम्म सहभागी हुने गरेको युवा संघ प्रचार विभाग प्रमुख प्रभावविक्रम कटुवालले जानकारी दिए । भदौ १३ गतेसम्म सञ्चालन हुने त्यस प्रशिक्षणमा पहिलो दिन नेतृत्व विकास प्रशिक्षण, सीप र कला विषयमा स्कुल विभागका सदस्य घनश्याम कोइरालाले प्रशिक्षण दिएका थिए भने दोस्रो दिन माक्र्सवादी दर्शन र आर्थिक–सामाजिक रुपान्तरणमा केन्द्रीय सदस्य तथा स्कुल विभाग सचिव इश्वरी रिजालले प्रशिक्षण दिएका थिए ।

एमाले पोलिट्व्यूरो सदस्य विन्दा पाण्डेले नेकपा (एमाले) र सामाजिक समावेशिता विषयमा प्रशिक्षण दिएकी थिइन् । भदौ ८ गतेकै दोस्रो प्रशिक्षण एमाले सचिव प्रदीप ज्ञवालीले नेपाली समाजको चरित्र र सांस्कुतिक रुपान्तरण विषयमा प्रशिक्षण दिएका थिए । भदौ ९ गतेको पहिलो प्रशिक्षण स्कुल विभागका उप–प्रमुख शंकर पोखरेलले आजको सन्दर्भमा जनताको बहुदलीय जनवाद विषयमा दिएका थिए । दोस्रो प्रशिक्षण केन्द्रीय सदस्य राजन भट्टराईले नेपालको भूराजनीतिक अवस्थिति ,विदेश नीति, सम्भावना र चुनौती विषयमा दिएका थिए ।
त्यसैगरी भदौ १० गते स्कुल विभाग सदस्य पुरुषोतम न्यौपानले नेपालमा कम्युनिष्ट आन्दोलनविषयमा प्रशिक्षण दिएका थिए भने दोस्रो प्रशिक्षण पार्टी निर्माण, संचालन र व्यवस्थापन विषयमा सचिव एवम् संगठन विभाग प्रमुख पृथ्बीशुब्बा गुरुङले दिएका थिए । बाँकी विषयहरु पनि अनेरास्ववियुकै जस्तो रहने स्कूल विभाग सदस्य मञ्जु यादवले जानकारी दिइन् ।

यसअघि अनेरास्ववियुका लागि आयोजित एकहप्ते स्कूलमा १४ विषयमा प्रशिक्षण दिइएको थियो । पार्टी निर्माण, सञ्चालन र व्यवस्थापन विषयमा एमाले सचिव एवम् संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, आजको सन्र्दभमा जबजबारे स्कुल विभाग उपप्रमुख शंकर पोख्रेल, नेपालमा विकासका सम्भावना र चुनौतीहरु विषयमा केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, प्रशिक्षण सीप र कला विषयमा स्कूल विभाग सदस्य घनश्याम कोइरालाले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी, नेपाली समाजको चरित्र र साँस्कृतिक रुपान्तरण विषयमा प्रदीप ज्ञवाली, जनसंगठनमा नेतृत्वको सवाल विषयमा सचिव एवम् मोर्चाफाँट इञ्चार्ज गोकर्ण विष्ट, २१ औँ शताव्दीको राजनीति र सञ्चार विषयमा सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई, तराई–मधेसको समस्या समाधनमा पोलिट्व्यूरो सदस्य लालबाबु पण्डित, नेकपा (एमाले) र समावेशीताबारे पोलिट्व्युरो सदस्य विन्दा पाण्डे, नेपालमा कम्युनिस्ट आन्दोलनबारे पुरुषोतम न्यौपाने, माक्र्सवादी दर्शन र आर्थिक सामाजिक रुपमान्तरणमा संगठन विभाग सचिव ईश्वरी रिजाल, नेपालको भूराजनीतिक अवस्थिति विदेशी मामिलासम्बन्धी नीति र यसका सम्भावनाहरु विषयमा राजन भट्टराईले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापनका दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।

अध्यक्ष–उपाध्यक्षले लिन पाएनन् प्रमाणपत्र

गबज त के भयो भने एकहप्ते प्रशिक्षणमा अनेरास्ववियुका अध्यक्ष, उपाध्यक्षलगायतका नेताहरु नै प्रमाणपत्र लिनबाट बञ्चित भए । विभागले प्रशिक्षणमा नियमित उपस्थित नहुनेलाई प्रमाणपत्र नदिने नियम बनाएको छ । त्यति मात्र होइन, प्रशिक्षणको अन्त्यमा परीक्षा लिन र त्यसमा उत्तीर्ण हुनका लागि न्युनतम ४० अंक ल्याउनुपर्ने प्रावधान छ । अनेरास्ववियुको एक हप्ते प्रशिक्षणमा नियमित सहभागी भए पनि दुई जना चाहिँ परीक्षामा सहभागी भएनन् भने अध्यक्ष नविना लामा, उपाध्यक्ष शैलेस लामा, कोषाध्यक्ष झपेन्द्र खत्री, सचिवालय सदस्य सुदीप शर्मा चार दिनभन्दा बढी अनुपस्थित भएको स्कुल विभागले जानकारी दिएको छ । त्यही कारण उनीहरु पनि परीक्षामा सहभागी हुन पाएनन् ।

विभागले दिएको जानकारी अनुसार सचिव सुदेश पराजुली र अमृत बुढा भने एक दिन पनि उपस्थित भएनन् । उनीहरुले व्यक्तिगत नभई संगठनको काममा व्यस्त रहेका कारण प्रशिक्षणमा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । ‘पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षणमा हामी व्यक्तिगत कारणले उपस्थित नभएका होइनौँ,’ कोषाध्यक्ष झपिन्द्र खत्रीले भने, ‘प्रशिक्षण सञ्चालन भइरहेका बेला तराई र देशका विभिन्न ठाउँमा बाढी–पहिरोले जनता आतंकित भएका थिए । हामी त्यतातर्फ राहत वितरण र उद्धारमा खटिएकाले उपस्थित हुन सकेनौँ ।’

युवा संघका सचिव नरेश शाहीले पनि स्कुल विभागले सञ्चालन गरेका यस्ता प्रशिक्षणले अध्ययन संस्कृतिको विकास हुने आशा गरे । उनले भने, ‘हामी यस्ता खाले प्रशिक्षण नियमतित होऊ्न भन्ने चाहन्छौँ ।’

स्कुल विभाग उपप्रमुख तथा स्थायी समिति सदस्य शंकर पोखरलेका अनुुसार, एमालेले अरु जनसंगठनका नेता कार्यकर्ताहरुका लागि पनि यस्तै कक्षाहरु चलाउने छ । उनले भने, योजना तयार गरेर सम्बन्धित संगठनलाई भनिसकेका छौँ, सबै जनसंगठनका लागि प्रशिक्षण दिँदैछौँ । उनका अनुसार, त्यपछि दोस्रो चरणमा प्रदेश स्तरमा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्