निरोगीलाई नर्सको भान्सा !


–युवराज नयाँघरे

मध्य दिनमा पुगियो प्युटार !
गाडीबाट झर्ने बित्तिक्कै मैले साथीलाई हेरेँ । उनी नचिनिने हालतमा थिए । मैले उनलाई र उनले मलाई हेर्दा विरुपका भएछौँ हामी ।
प्याङगाउँबाट बिहान गाडी सँगै चढे पनि गाडीबाट झरुन्जेलमा हामी पुरै अर्कै रुपका, चालढालका र हबिगतका हुन पुगेछौँ ।
हो, हामी धुलाम्मे अनुहार लिएर सडक किनारमा उभियौँ । धुस्रेफुस्रे र सेतै फुलेसरिका ।
‘दाइ, ललितपुरमा स्वागत छ !’
गोपाल सन्जेलले आफ्नो धुलेमुले अनुहार पुछ्तै भने ।
म हाँसेँ मुसुक्क ।
रुमालले अनुहार राम्रैसँग पुछपाछ गरेँ ।
ज्याकेट टकटकाएँ बेस्सरी । झोला झट्कारेँ । आफ्नो सारा जिउ मरक्क बटारेर बिहानदेखि थुप्रेको धुलो फालेँ । गर्धनमा बसेको पत्रे धुलाको लुँडो औँलाले तानेँ ।
झिसमिसेदेखि धुलो खान सुरु भएको थियो ।
भित्तो रोजेर बसेको म झ्यालको शिशा परेछ आधा । अनि घरी यता घरी उताको तानातानले सारा छारोले पुर्रिएको थिएँ । ह्वारह्वारी पस्ने धुलोले सारा शरीर सेताम्मे भएथ्यो । अनुहारमा लिपपोत भएथ्यो गजबले ।
मोटरबाट झर्न पाएकोमा खुशी थिएँ म ।
दिन चिसो थियो । बादल र घामले पाइला चालेको— कान चिसिने दिन ।
मैले प्युटारको झुरुप्प पाखोमा ओछ्याएँ आँखा । मास्तिरको डाँडो र तलतिर तरेली भएर फाँट पैmलेको छ थामिई–थामिई । गरा र एक्ला घरको सम्बन्ध रुखपातले जोडेको देखिरहेको छु म ।
निकै अघिदेखि ललितपुरको दक्षिणी भेग घुम्ने रहरले चौचौ गरेको थियो । साता दिनको समय छुट्याएर यता लर्किएको छु म । बाटो, बास, भोजन र नक्साको जानकार छन् सन्जेल । उनको औँली समातेर लम्केको छु खराखरी ।
यस्तै चालीस परिवारको घरधुरी रहेछ प्युटारमा ।
विद्यार्थी कता थिए कुन्नि गुरुहरुको गफ, गिल्ला र गनगनले तातेको भेटियो कालीदेवी उच्च माध्यमिक विद्यालयको आँगन ।
सामान्य भेटघाट र चिनाजानीमा थोरै समय खर्चियौँ हामीले । चिया नखुवाई नपठाउने भनेका थिए । तर अल्मलिन मन नमानेको हुनाले ‘फेरि खाने’ निहुँमा विदा भयौँ हामी दुई भाइ गुरुहरुको हुलबाट ।
बाटैमा भेटिएका राम बानियाँसँग निकै सोधपुछ गरेँ मैले । ठट्यौला र हँसिला बानियाँसँग गफका तालमा गोरेटो बाटो भएर उनका आँगनमा पुगेछौँ हामी ।
‘भातभान्सा यतै गरौँ । आज हाम्रैमा बसौँ ।’
बानियाँको सत्कार ओठमा आयो मनैदेखि ।
‘होइन, हामी डुल्न हिँडेका । झमक्क साँझ नपरुन्जेल हाम्रा खुट्टा बिसाउँदैनन् । ज्यानले थाकेँ भन्न पाउँदैनन् । हाम्रो योजनालाई भाँजो नहाल्नु होला !’
चिया सुर्काउँदै बोले गोपाल ।
उनको बोलीमा मैले सघाएर थपथाप पारेँ ।
यसरी हामी त्यो आँगनबाट तेर्छो र तेर्पे गोरेटो भएर पूर्वतिर हाम्फालेको बाटोतिर हेलियौँ । बाटोका दायाँबायाँ अम्रिसोघारीले पाखुरा–गोडामा छुन्थे । आकाशको बादल खुल्ने र धुम्मिने भइरहेथ्यो ।
दक्षिणतिरको बाग्मती नदी लुक्ने र देखिने भएर बगेको देखिरहेथेँ म । त्यसका कालाम्मे छालमा काठमाडौँको पाप र कपटले स्वर थपेको मैले भित्रैदेखि सम्झन पुगेँ । निकै वरबाट नि खोलाको अनुहार टुप्लुकिरहेथ्यो घरी–घरी ।
बाटोमा अक्टोपस ज्यानको डोजरले भीर छेउका रुख म¥याकमुरुक पेलेर सम्याइरहेथ्यो बाटो । पाँचसात तन्नेरी बुङबुङी चुरोट उडाउँदै तास फिटिरहेका थिए । दुईतीन बूढाहरु डोजरले लडाएका रुखबाट हाँगाबिँगा भेला पार्दै थिए ।
बानियाँले भनेको सम्झिएँ—‘बुझ्नु भो, बहुदल हैन यो । बाउ दलिने, छोरो हल्लिने पो हो त !’
अल्मलिरहेको तरुण पुस्तालाई कटाक्ष गरिएको हुनु पर्छ यो ।
मैले अघि प्युटारमै सुनेथेँ—नाउँको अर्थ ।
‘तामाङ भाषामा प्यु भनेको जरायो हो । यो टारमा बेस्सरी पाइन्थ्यो ।’
कानैनिर बडेमानको कोठी भएकी आइमाईले भनेकी थिइन् ।
उनले भनेको कुरा सम्झना छ—‘तामाङ मात्र बस्थे नि यता । पर्वते कुरा सिक्न तिनले बाहुन छेत्रीलाई यतातिर बस्ती बसाउन सघाए । बाहुन छेत्रीसँगै एक घर कामी आए, एक घर दमाई आए । एक घर नेवार आए । अनि बस्ती बढेर गयो ।’
मैले मुन्टो मात्र हल्लाएर सुनेको कुरा हो यो ।
वारिपट्टि ललितपुरको विकट डाँडो छ । पारिपट्टि मकवानपुरको तरेली बस्ती र ओसिला गाउँघर । दुबैतिर बेसी र टार–खेतको लुकामारी देखिन्छ ।
पहाडमा पहाड खप्टिएको देखेर आँखा हुन्छन् फुरुङ्ङ ।
दुईजना बूढा च्युँडोमा हात लगाएर धुँवा उडाइरहेका थिए मोडको कान्लामा । तोरी, गहुँ र फापरका रङ्गीबिरङ्गी रुपमा आँखा छोडेर सुस्ताएँ म ।
‘गाउँ विकासको बजेट सबै डोजरले खान्छ !’
घुँडा फाटेको पाइन्ट लाउनेले गुनासो ग¥यो ।
‘डोजरले खनेको बाटो बर्खामा पहिराले लान्छ !’
झ्याप्प कपाल भएको अर्को बूढाले असन्तोष पोख्यो ।
मन भो बिरसिलो । योजना र कार्यान्वन बीच तालमेल नभएको प्रमाण उत्रिए यी बोलीमा । मेरो मन भो निकै चिसो ।
पारि देउराली रमाइलो देखियो ।
पूर्वतिर लागिरहे पनि पश्चिमी पाखा र फग्लेटा चिहाउन अनि चिन्न छोडेका छैनौँ हामीले । तल बेसीको फाँटिलो टारमा फापरका कलेजी र सेता पूmलले बास्ना नदिए पनि रङको उत्पात आनन्दी पस्किरहेथे । खुशीको चाङ घटेन, थपियो ।
दाहिनेतिरै बस्यो घले बस्ती ।
खैरेनी बेसी नाघिरहेका छौँ । खयरघारीले तलको खोँच र बेसीको सुन्दरता बढेको देखिन्छ । सुरिला र अथाह रुखपातले बेसीको गर्मी छोपछाप हुने देखिरहेछु म ।
सुन्दर बेसी । हो, निकै रमाइलो बेसी । मन, आँखा र खुट्टा टक्क रोकिने भरिपूर्ण बेसी ।
एकोहोरो पूर्वतिर लाग्न थालेका छौँ ।
बिहान खाएको धुलो र छारोले फुलाएको छ बेस्सरी । चर्चरी फुटेका ओठ र बिझाएका आँखामा वरपरका जङ्गलले रसबस ल्याउँछन् ।
‘प्रकृति पढ्न हिँडेपछि पचाउनै प¥यो धुलो पनि, छारो पनि !’
मनको गथासो मनसँगै ।
चिसो हावाले परेली समेत हल्लाउँछन् ।
सँगै उडेर आउने हावाले हामी ढाकिन्छौँ । वनसँग भेटघाट भइरहेको छ ।
बेलाबेलामा वन चराको चिर्बिरले कानलाई सन्चो पार्छ । फेरि बेलाबेलामा बन्चरो चलेको ठङठङीले छाती आत्तिन्छ । दुई चरा एक अर्काका लागि पुरै प्रतिकूल ।
खैयरघारी पुगेपछि बाटोमुनि काठे छाप्रोमा सुस्तायौँ । चिया, चरोटको खिच्रिङमिच्रिङ पसल रहेछ । गोपालका आँखा परेछन् डोरीमा झुन्डाइएका केराका काइँयामा । उनले मागिछाडे ।
‘पारि सोल्थुमका केरा हुन् । खानु, मज्जाले खानु !’
पसले मान बहादुर लामाले सु¥याए ।
‘बिसन्चो भए नि भरे ?’
मैले भनेँ ।
‘बिसन्चो भए आउनु होला । अरु चार कोसा सित्तैमा दिउँला । केराले लाएको रोग केरैले ठेगान लाउँछ !’
लामाले यसो भन्दा गाउँले निश्छलता देखिन्थ्यो ।
बाग्मतीपारि मन्थली, सोल्थुम, चन्थली र केराबारी लस्करै थिए । ती सबै भेगमा केराको खेती हुन्छ रे आजभोलि । केराकै खानीमा पुग्दा नि महँगै लाग्यो मलाई केराको भाउ । हो, स्वाद चैँ निकै रसिलो र मुखै रमाउने । साँच्चै, केरा खाएजस्तो !
पानी र केराको आनन्दीले बाटो कटाउन थाल्यौँ ।
पातला घरबस्ती झ्वाट्ट भेटिन्थे । आगो तापेर बसिरहेका बूढाबूढीले बाख्राका पाठा मुसारिरहेका, कुकुरका छाउराछाउरी चेपिरहेका धेरै ठाउँमा देख्थेँ म ।
निकै लम्केपछि बाटोमा भेटिए अर्का तामाङ । सन्चो बिसन्चो र घरपरिवारका निकै कुरा भए । उनी खुरुखुरु कुरा गरिरहेथे ।
अलिक पछि गोपालले सोधे—‘तपाईं मेराबारे पुरै जानकार हुनु हुँदोरहेछ । मैले त तपाईंलाई राम्रोसँग ठम्याउनै सकिनँ । के पो गर्ने होला ?’
सन्जेल परे राजनीति, शिक्षा, समाजसेवा जस्ता बढ्ता जनसम्पर्कसँग भिज्ने वर्गका कर्मठ–कर्ता । यी तामाङ क्यै गरी नचिनिँदा उनी पटक–पटक निधार खुम्चाइरा’छन् ।
‘बा¥ह वर्ष अघि तपाईं बिजुली बाल्न यो गाउँमा आउनु भा’ थियो नि सार !’
स्याउरी तामाङले अन्ठाउन्न सालतिरको कुरो सम्झाए ।
बोलीसँगै पाइला सारिरहेछौँ ।
मैले सोधेँे—‘बाटो बल्ल आउँदै रै’छ । फाइदा कत्तिको भा’छ नि ?’
‘दाम आयो !’
उनले बिस्तार गरे—‘बाटोले धेरै कुरा दियो । आफ्नो पालामा कति सारो दुःख थियो । तीन पाथी मकै बोकेर खाली खुट्टाले रुँदैरुँदै भट्टेडाँडा जानु पथ्र्यो । तुसारोमा टेक्दै, रुँदै, सिँगान चुहाउँदै गइन्थ्यो । अब त कति सन्चो कति ! निकै सुविस्ता भो । तर त्यो सुविस्ताले मान्छेलाई बिगार्दैछ नि सार !’
‘हो नि !’
मैले थपेँ ।
‘सन्तानले त पढ्लान् नि ?’
गोपालले सोधे ।
‘छोरो नौबाट दशमा पुग्यो । छोरी आठबाट बिए पास भई !’
स्याउरीले यसो भन्दा हामी हाँस्यौँ ।
‘दुइटा त पर्मानपत्रै पाइसकी !’
यतिखेर उनी मात्र हाँसे ।
बाग्मतीको कलकल नजिकै आइरहेछ । उसको आवाजमा हाम्रा आँखा, कान र कम्पन टाँसिन पुग्छन् घरीघरी ।
तोरी फुलेको कस्तो गजब देखियो धनडाँडामा ।
बिहान भट्टेडाँडामा निलेको अन्नपानी सिद्धिएको सूचना अब हल्लीखल्लीसाथ आउन थालेको छ । तर त्यो हल्लालाई म आपैmँ डल्ला बनाएर निलिरहेको छु ।
अनि भनिरहेको छु—‘यो बेला न कुबेला आन्दोलन गर्ने कुरा नगर है !’
धनडाँडा बेसी निकै रमाइलो थियो ।
बर्खे धान रोप्न गरामा जमेको पानीले गर्भिणी धर्तीको सङ्केत दिन्थे । बाटो मास्तिरको चिसो र सङ्लो पानीमा म हात धुँदै मनमा शीतलता उमार्थें पटकपटक ।
बाल मनोरमा निम्न माध्यमिक विद्यालयको देब्रे पेटी भएर हामी पूर्वतिर वेगिन छोडेका छैनौँ । जाडो, घाम र हावाको सुम्सुम्याइ छ शरीरमा ।
सानो बजारजस्तो लुकुनी बेसी । हाम्रा अनुहारलाई बजारले पढ्यो र ठोकुवा ग¥यो—‘यी याँका मनुख्खे होइनन् !’
बजार छोडेर हामी बेसीतिर लाग्यौँ । आठदश जना बालक र वृद्धहरु मुडाको आगोमा निमग्न देखिन्थे । मैले यहीँबाट पारिका मकवानपुरे डाँडा र बेसी खेतको सुन्दरतामा आँखा छोडिदिएँ ।
एकान्त र बेपत्तै टाढाको अनुभूतिले बल्किएको छ छाती ।
‘दाइ, साँझ प¥यो यतै पो बास बस्ने हो कि ?’
धुनी तापिरहेका एक बूढा मान्छेसँग गप्फिँदै मेरो मन जाँचे सन्जेलले ।
‘आफन्तको भन्दा अन्तै बस्दा जाती होला कि !’
मैले सुटुक्क भनेँ ।
‘त्यसो भए पल्लो थुम्कीसम्म पुगौँ !’
सेतो घरजस्तो देखिएको तीन थुम्की उताको ठाउँतिर गोपालले औँला देखाए । त्यस लगत्तै हामीले पाइला बढायौँ ।
अँध्यारो लम्की लम्की आइरहेथ्यो ।
‘तीँ त रै’छ नि ! जाऊँ जाऊँ !’
मैले यति भनेपछि आँट बढ्यो ।
तर मनले नजिक ठाने नि आँखाले देखिरहेथे परै…परै…।
अनि लमक लमक पाइला चाल्यौँ । दक्षिणतिरका थुम्का अनौठा–अनौठा देखिन थाले । खोँच र चेपमा अघिसम्म रुखपात । अब त भिन्नै खालका टुप्लुकिए । मास्तिरको आकाश नि बेग्लै देखिन थाल्यो ।
‘बा¥ह वर्षसम्म याँ सरकार थिएन !’
‘त्यतिखेर बन्दुके गुडुडु हुन्थे जतिबेलै !’
पर परका एकलास हेर्दै थामिई–थामिई बोले गोपाल ।
बाग्मती नै चर्को भएर कराउन थाल्यो ।
मोडिएर गएको बाटोलाई बनाएका छौँ साथी ।
‘यो बाटो आएकै यस्तै चारपाँच वर्ष भो होला । बत्ती र फोन आएकै निकै पछि !’
सन्जेल बोलिरहेका छन् ।
म उनकै छायाँ भएर हिँडिरहेको छु ।
ललितपुर जिल्ला होइन, सुदुर अभेग र महा विकट पहाडी बस्ती हिँडिरहेको लाग्दैछ । अचम्मले छातीमा छुरा रोपेकोरोपेकै छ । छक्कले कोखामा लट्ठी घोचेकोघोचेकै छ । अनौठोले थिचेकोथिचेकै छ ।
किनार पारिएको हो कि !
राजधानीसँग जोडिएको जिल्लाको यो हालत ! केन्द्र चलाउने जिल्लाको यो हरिबिजोग ! देश हाँक्ने जिल्लाको यो हबिगत !
धेरै विष्मयपूर्ण प्रश्नले परेली ढकढकाउँछन् ।
लुकुनी बेसी निकै वरसम्मै रहेछ । बेसीका खेतमा मान्छेहरु अँध्यारो होउन्जेल खेतमा मरिमेटेका लाग्थे । झमक्क परेको रातले चारैतिरबाट घेरा हाले पनि जोतिएका हातगोडा खेतका खोस्रीनङ्ग्रीमै थिए । खटाइका लागि बा¥ह घन्टा नि कम हुने !
कुइनेटोमा बाटो घुमेर गयो । गोरेटो चैँ उकालियो, सामुन्नेको अक्करे भीर भएर ।
‘छोटो रोज्ने कि घुम्ने ?’
सन्जेलले सोधे ।
‘उकालो गा¥हो हुन्छ । बरु सजिलो बाटोतिर लम्कने कि ?’
आपूmलाई लखतरान भएको बताएर भनेँ मैले ।
लामै बाटो हिँडिसकिएको छ । अझ छारोले ओठ चर्चरी फुटाएको छ । गोडका दुबै कान्छी औँलाका खिल टन्केर हत्तु भएको छु । जाडोले राम्रैसँग थप्थपाएको छ ।
बाटो बाँडिए ठाउँमा एकछिन घोरियौँ हामी ।
त्यै बेला दुई किशोर उकालोको गोरेटोतिर लागे । अँध्यारोले राम्रैसँग घेरिहाल्यो । सामुन्नेका अनुहार नि नचिनिने भए छिनभरमै ।
‘भाइ, हामी हेल्थपोष्टसम्म पुग्न खोजेका । छोटो बाटो कताबाट हो ?’
गोपालले सोधे ।
लुइँलुइँ लम्केका दुई केटा एक छिन थामिए । अनि भने अग्ला सूर्य बहादुर सिँगारले—‘हाम्लाई पछ्याउनु न !’
नभन्दै उकालोमा उनीहरुका पुच्छर भयौँ हामी । अर्का सोम बहादुर सिँगारसँग गप्फिँदै हामी स्वाँस्वाँ गर्न थाल्यौँ । ठाडै उकालीमा पसिनाका खोली कुदे ज्यानभरि ।
तल बेसीतिर हिँडुन्जेल चिसो हावाले सन्चो पारेथ्यो । हलुका तातोले आङमा छोएको नि ठानेथेँ मैले । तर उकालीको पसिनाले भिन्नै खालको भाव सर्सरायो छातीमा ।
अँध्यारोमा आँगन, गोठ, करेसा र धारोमा काम गरिरहेका आइमाईसँग हेल्थपोस्ट जाने बाटो सोधिरहेथे सन्जेल । उनका आवाज ठम्याएर कति त भन्थे—‘यतै बास बसे नि हुने !’
‘हैन, बाटो नै छोट्याऔँ होला !’
उनी बोल्दै उकालो चढ्थे ।
म नि खुइ्यय गर्दै सही थाप्थेँ—‘हजुर, बाटै छोट्टाम् होला !’
तर भित्री मन मेरो चैँ अर्कै भइसकेको थियो—‘यै पिँढीतिर पो पसारिन पाए नि हुने…!’
गलेर अनि थाकेर सोध्ने जत्तिका आँगनमै थचक्कै बस्न मन त थियो नै । तर धेरै कुराले त्यसो गर्न दिएन ।
एकदमै एकलास । बाँसघारीमा बसेका चराचुरुङ्गी बिस्तारै चिर्बिराएको सुन्दा लाग्थ्यो—अँध्यारोको त्रास बेस्सरी ओर्लेछ । रुखपातले बाटो छोप्छ ।
परपर पिलपिलाएका बत्तीसँग जाडो जुधिरहेको देख्छु म ।
निकै उकाली, तेर्छो र तेर्पे काटेर कोदोबारी नाघेपछि दुईजना मान्छे गप्फिँदै आएको सुनियो । सिँगार भाइहरुलाई खबर पनि पठाएथ्यौँ—‘हेल्थपोष्टका राजु गौतमलाई तलतिर जानु भन्दिनु है !’
मान्छेको बोली टड्कारिँदै आयो वर–वर ।
हामी अँध्यारोमा छामछाम छुमछुम गर्दै हिँडिरह्यौँ डाँडैडाँडा । टेकेका ठाउँमा खुट्टा पर्दैनन् । अँधेरी रात छ । एकदमै निष्पट्ट । निकै थुम्कामा पुगेपछि जाडो पनि बटारिएर फुइँकी फुक्न थाल्यो ।
गोरेटोसँग चिनाजानी गर्दै हिँडिरहेको छु । खुट्टा, मन र आँखा जति चनाखा छन्— कान झन् टठिला पार्दै हिँडेको छु ।
आफ्नै तालमा हिँडिरहँदा हाम्रासामु आएर एउटा तेजिलो हाते लाइटको उज्यालो रोकियो ।
‘गोपाल सर हैन ?’
‘राजुजी हैन !’
गौतम र गोपालले चिनाजानी गरे आवाजबाटै । अर्का ज्यानका एक मनुवा नि साथै थिए ।
हेल्थपोष्ट पुग्यौँ हामी । त्यही अगेनो वरपर बसेर राप्पिएका थुपै्र महिला स्वयम्सेविकाहरु भेटिए । चिनापर्चीसँगै भोजन ग¥यौँ ।
‘निरोगीलाई नर्सको भान्सा !’
खाना खाँदा मेरा मनमा कुरा खेले ।
भोजपुरे कला राई सेवा गर्दै पुगेकी रहिछिन् त्यहाँ । भातको पहिलो गाँस खानै लाग्दा उनले भनिन्—‘तपाईंहरु नि आइपुग्नु भो । एउटी नानी पनि जन्मिन् भर्खरै !’
धेरै बेरसम्म गफगाफ गर्दै अगेनाका अगुल्टा ठोसठास पारिरह्यौँ हामीले । वरपर तामाङैतामाङले भरिएको यो भेग शिक्षा, स्वास्थ्य र चेतनाले पछि परेको रहेछ निकै नै ।
काठमाडौँको नाकैमुनिको बिचल्ली देखेर अवाक् भएँ म । पछाडि परेको समाज सुनेर कानमा झिर परेको पीडा बल्किन्थ्यो ।
देश दुख्नु भनेको यही रहेछ ।
मैले राति आफ्नो डायरीमा लेखेँ—‘२३ पुस, २०६९ । आश्राङ, बाग्मती तीरको बास !’
सानो चैनपुरले आधा रातमा निन्द्रा ल्याइदियो मेरा आँखामा ।

प्रतिक्रिया दिनुहोस्