निर्मलाको हत्याको अनुसन्धानमा सरकार गम्भिरः गृहमन्त्री


काठमाडौ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका हत्या लगायतका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षति लगायत बारेमा संघीय संसदका दुवै सदनलाई सरकारका तर्फबाट जानकारी गराएका हुन् ।
सरकारले निर्मलाको हत्या घटनाको अनुसन्धानका लागि विभिन्न समिति गठन गरी पठाएको बताउँदै उनले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन भएको र प्रहरीको तर्फबाट पनि छानबिन तथा अनुसन्धान समिति पठाइएको छ । प्रतिवेदन तयार हुने अन्तिम चरणमा रहेको छ। सदनले पनि गम्भीर चासो देखाएको र दोषीहरूलाई कानुनको दायरामा ल्याउन गृह मन्त्रालय प्रतिवद्ध छ ।’ राष्ट्रियसभामा बोल्दै उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जनाए । उनले गृह मन्त्रालयले भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले निर्मला पन्त बलात्कार तथा हत्यामा संलग्न को हुन र अनुसन्धानको क्रममा क–कसले लापरबाही गरे भन्ने बारेमा समेत अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्