निर्माण अगाडि नबढेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संसदीय चासो


२६ असोज । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक पर्ने गिट्टी, ढुङ्गा, माटो र विद्युत्को नियमित आपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइ भएको सन्दर्भमा समितिले गम्भीर चासो लिई सरोकार भएका निकाय पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल आयोजना प्रमुख लगायतसँग दुई दिन छलफल गरेको थियो ।

उक्त आयोजनाको भौतिक एवम् वित्तीय प्रगति सन्तोषजनक नरहेको बताइन्छ । समितिले आयोजना सम्पन्न हुने समय सकिन अब केही महिना मात्र बाँकी रहँदा २६÷२७ प्रतिशत भौतिक र २३ प्रतिशत मात्र वित्तीय प्रगति हुनुले आयोजना समयमा सम्पन्न हुन नसक्ने र शुरुको अनुमानित लागतभन्दा बढी लाग्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।

समितिका सभापति डोरप्रसाद उपाध्यायले ठेकेदार, आयोजना प्रमुख, प्राधिकरण र मन्त्रालयले समेत आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह नगर्दा आयोजनाको अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको बताए । उनले आयोजना समयमै सम्पन्न नभएमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिने निर्णय भएको बताए ।

बैठकमा धनराज गुरुङ, चुडामणि जंगली, रामहरि खतिवडा लगायतका सांसदले आयोजना निर्माणका जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ ले पूर्ण रुपमा जिम्मेवारी लिई फिल्डमा काम नगरेकै कारण निर्माण कार्यमा ढिलाइ भएको र यसमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्