निर्माण व्यबसायी महासंघमा कार्कीको पक्षमा माहौल बन्दै


काठमाडौ, २ असोज । निर्माण व्यबसायी महासंघको २० औं साधरण सभाको संघारमा व्यबसायीहरु सक्षम नेतृत्व जिताउने अभियानमा जुटेका छन् ।
४,५  र ६ असोजमा काठमाडौंमा हुने साधरणसभाका लागि नेकपा निकट नेपाल निर्माण व्यबसायी संघले महासंघका पूर्व अध्यक्ष तथा इन्जिनियर यक्षध्वज कार्कीलाई नेतृत्वका लागि अघि सारेको छ । एक कार्यकाल पूर्व अध्यक्षको जिम्मेवारी सम्हालिसकेका कार्कीले ५५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित टिम निर्माणका लागि कसरत अघि बढाउँदै व्यबसायीहरुसँगको भेटघाटलाई तीब्रता दिइरहेका छन् ।
कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यबसायी संंघले भने गुटगत प्रतिस्पर्धाका कारण अहिलेसम्म अध्यक्षको उम्मेद्वार अघि सार्न सकेको छैन । उक्त खेमाबाट सभापति शेरबहादुर देउवा निकट होमनाथ कोइराला, रामशरण देउजाले दाबी गरेका छन् । त्यस्तै, अध्यक्षकै लागि रवी सिंहले पनि दाबी छ । एउटै खेमाबाट त्रिपक्षीय दाबीका कारण लोकतान्त्रिक खेमाले अहिलेसम्म अध्यक्षको उम्मेद्वार तय गर्न सकेको छैन ।
लामो समयसम्म महासंघमा लोकतान्त्रिक खेमाले नेतृत्व गर्दै आएको छ । तर पनि नेपालको निर्माण व्यबसायको क्षेत्रमा दुई÷तीन दर्जन ठूला ठेकेदारहहरुको ठेक्कापट्टामा देखिएको हालिमूहाली र सिण्डिकेट तोडेर दुई तिहाईभन्दा बढि निर्माण व्यबसायीहरुको हक–हितको पक्षमा काम गर्न नसकेको निरन्तर आरोप लाग्दै आएको छ । अहिले वामपन्थी समूहले मूलत ःयही विषयलाई एजेण्डा अघि सारेको छ । ‘‘ठूला–साना सबैको साझेदारी, विकृति र विसंगतिप्रति खबरदारी । राजनीतिक होइन, व्यवसायिक एकताका लागि हाम्रो समझदारी ।’’लाई मूल नारा बनाएको वामपन्थी समूहले यसअघि कुशल नेतृत्व गरिसकेका कार्कीलाई अध्यक्षका रुपमा अघि सारेको हो ।
‘ठूलो राजनीतिक परिवर्तनपछि हामी समृद्धिको अभियानमा छौं, भौतिक पूर्वाधारको विकासमार्फत मुलुकलाई छिटो त्यस दिशामा अघि बढाउने हो भने देश निर्माणको काममा साना–ठूला सबैको साझेदारी हुनुपर्ने एजेण्डालाई आत्मसात गर्नुको विकल्प छैन, कार्की समूहको चुनावी प्रचार समितिका संयोजक खोपनीधि लोहनीले भने,‘त्यसैले आम निर्माण व्यबसायीहरुको चाहना र भावनाको प्रतिनिधित्व गर्दै हाम्रो समूह चुनावी प्रचारमा आक्रमक ढंगले अघि बढिरहेको छ ।’ चुनावी तयारीलाई नै मध्येनजर गर्दै निर्माण व्यबसायीहरुले तत्कालीन एमाले र माओवादी निकट संगठनको एकतासमेत सम्पन्न गरिसकेका छन् । कार्की निकट समूहले ५० बुँदे प्रतिबद्धतासमेत अघि सारिसकेको छ ।

 

को हुन् कार्की ?
दोलखाको खारेमा जन्मिएका कार्कीे कुशल निर्माण व्यबसायीका रुपमा परिचित छन् । त्रिभुव विश्व विद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कार्कीले अन्तराष्ट्रिय राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । एक पटक अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका कार्कीले एक पटक उपाध्यक्ष, महासचिव र सचिव तथा दुई पटक सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । महासंघको नेतृत्व सम्हाल्दा विधान समावेशी बनाउने, बोलपको प्रावधानलाई सरलीकरण गर्न अगुवाई गर्ने, जिल्ला निर्माण व्यवसायी संघका लागि अनुदान दिने व्यबस्थाको सुरुवात गर्ने जस्ता महत्वपूर्ण काम गरेको व्यबसायीहरु चर्चा गर्छन् ।
उनले सार्बजनिक खरिद ऐन र नियमावलीमा भएका अव्यबहारिक प्रावधानलाई संशोधन गराउने, मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५० लाई खारेजीका लागि पहल गर्ने प्रतिबद्धता अघि सारेका छन् । त्यस्तै, अन्तरदेशीय सम्बन्ध बिस्तार, कोषको व्यबस्था र अन्तराष्ट्रिय सम्बन्धबारेसमेत उनले योजना अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्