निर्वाचनका सन्दर्भमा फेरि ओली–प्रचण्ड एकै ठाउँ


९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिको खासै भर हुँदैन । उनी एउटा कार्यक्रम वा प्रसङ्गमा गरेको कुरा अर्को कार्यक्रम वा प्रसङ्गमा फरक ढंगले प्रस्तुत हुन्छन् ।

प्रचण्डको त्यही बानीबाट वाक्क भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले त एक्लै प्रचण्डसँग भेट नै नगर्ने अभिव्यक्ति समेत दिएका थिए । यद्यपि शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन ठूला दलको सहमतिलाई आइतबार एक कार्यक्रममा प्रचण्डले नढाँटी भनेकाले आगामी वैशाख अन्तिम सातातिर स्थानीय तहको निर्वाचन हुन सक्ने सम्भावना बढेको छ ।

प्रचण्डले आइतबार संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन समारोहमा यही माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी आवश्यक विधेयक संसदबाट पारित गराई निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको बताए ।

त्यस्तै अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिएका छन् । उनले माओवादीका केन्द्रीय सदस्य राजकुमार कक्षपतिलाई एमालेमा प्रवेश गराउदैँ भने–‘वैशाख अन्तिमसम्म निर्वाचन हुने संकेत देखिएको छ ।’ उनले पनि बालुवाटारमा तीन दलबीच त्यो विषयमा सहमति भएको संकेत गरे ।

यता प्रचचण्डले पनि छिटोमा वैशाख २५ गते र ढिलोमा वैशाख ३० गते सुरु गरी जेठकोे दोस्रो सातासम्म निर्वाचन सम्पन्न हुने गरी प्रमुख दलहरुबीच सहमति भएको दाबी गरे ।

प्रधानमन्त्री दाहालले संशोधनको प्रक्रिया अघि बढाएर असन्तुष्ट दललाई पनि निर्वाचनमा आउने वातावरण बनाउन सरकारको ध्यान केन्द्रित रहेको पनि उल्लेख गरे ।
सभामुख ओनसरी घर्तीले संविधानमा उल्लेख भएअनुसार स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गर्न एक वर्ष मात्र समय बाँकी रहेका बेला निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच भएको सहमतिको प्रशंसा गरेकी छिन् । उनले पनि सोही कार्यक्रममा यस्तो प्रशंसा गरेकी हुन् ।

पूर्वसभामुख एवम् नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलबीच भएको सहमति संविधान कार्यान्वयनमा पनि हुनुपर्ने आवश्यकता औँल्याए । शनिबार साँझको बैठकमा सहभागी नेम्बाङले पनि दलहरुबीच निर्वाचन गर्ने सहमति भएको बताए । सबै नेताको सकारात्मक प्रतिक्रिया हेर्दा निर्वाचनको माहोल बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्