निर्वाचन आयोग गृहमन्त्रालयको एक शाखा जस्तो भएको छः योगेश भट्टराई


१४ असार । नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचन आयोग सरकारको अड्डा वा गृहमन्त्रालयको एक शाखा जस्तो भएको आरोप लगाएका छन् ।

एमालेको अफिसियल पेज फेसबुकबाट लाईभ अन्तवार्ता दिदैँ उनले यस्तो आरोप लगाएका हुन् । ‘निर्वाचन आयोग पछिल्लो समय सरकारको अड्डा जस्तो वा गृहमन्त्रालयको एक शाखा जस्तो भएको छ,’ उनले भने, ‘प्रदेश नम्बर दुईको निर्वाचन मिति सार्ने बारेमा एमालेसँग कुराकानी गर्दा प्रमुख निर्वाचन आयुक्तले असार १४ मै हुने भन्दै कुनै हालतमा नसर्ने दाबी गर्नुभएको थियो । तर, सरकारसँग छलफल गरेर सार्न तयार हुनुभयो ।’

भरतपुर प्रकरणमा पनि आयोगले सरकारको पक्ष लिएको भन्दै आलोचना गरे । ‘मतपत्र गणना स्थलमा मतपत्र च्यात्ने कुरा निर्वाचत आचारंसहितको त्यो भन्दा ठूलो उल्लङघन के हुन्छ,’ भट्टराईले भने, ‘तर, आयोगले उनीहरुलाई कारवाही गर्न सकेन र सरकारको पक्ष लियो ।’ उनले कैलाली–कञ्चनपुरमा मिसाएर दुई मधेस प्रदेश बनाउने र आफ्नो प्रधानमन्त्री पद सुरक्षित गर्ने नियत शेरबहादुर देउवाको रहेको पनि आरोप लगाए ।

‘देउवाजीको यो मनसायलाई प्रदेश नम्बर सातका जनताले राम्ररी बुझेका छन्,’ उनले भने, ‘मधेस र पहाडलाई एकतावद्ध बनाउनुपर्छ भन्ने पार्टी एमाले मात्रै हो भन्ने पनि त्यहाँका जनताले बुझेका छन् । त्यसैले प्रदेश नम्बर सातमा एमालेको पक्षमा व्यापक जनलहर आएको छ ।’ उनले देउवाको जिल्ला डडेलधुरमामा समेत एमालेले सम्मानजनक मत ल्याउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्