निर्वाचन तोकिएकै समयमा हुन्छः नेता नेपाल


१४ असार । नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तोकेको अवधिमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताएका छन् ।

इन्टरनेसनल कम्युनिष्ट वर्कर्स पार्टीको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन मंगलबार भियतनाम जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारले मङ्सिरमा स्थानीय निर्वाचन गर्ने विषयमा कसैसँग सम्झौता गर्नु हुँदैन, निर्वाचन मुलुकको आवश्यकता हो ।’

नेता नेपालले कुन पार्टीको कुन नेताको के समस्या छ भन्ने नाममा मुलुकको हितका लागि हुने चुनावमा कुनै पार्टीले अवरोध गर्नु नहुनेमा जोड दिए ।

‘सहमति बन्नसके अहिलेकै नेतृत्वको सरकारमा नेपाली कांग्रेस र मधेसवादी दलका नेता सहभागी हुनुपर्छ, नभए जसको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसका लागि तयार हुनुपर्छ ।’ उनले भने ‘अहिले सरकारले हिम्मत देखाएको छ, तोकिएको समयमा निर्वाचन गर्नुमै मुलुकको निकास छ ।’

कांग्रेसले व्यवस्थापिका संसद्मा गरिरहेको अवरोधको कुनै तुक नरहेको बताउँदै उनले भने– ‘लोकतन्त्रको नाममा औचित्यहिन चरित्र देखाउन सुहाउँदैन, कांग्रेस प्रतिपक्षीसँगै सबैभन्दा ठूलो दल पनि हो, मुलुकको निकासका लागि उसको रचनात्मक भूमिका प्रदर्शन आवश्यक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्