निर्वाचन सार्ने सरकारको प्रयत्नप्रति निर्वाचन आयोग असन्तुष्ट


२५ असोज । आगामी मंसिर १० र २१ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्रभावित पार्ने गरी सरकारले निर्वाचन मिति सार्ने कसरत गरेपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले घुमाउरो पाराले सरकारलाई मिति नसार्न आग्रह गरेका छन् । सरकारले मंसिर १० मा तोकिएको निर्वाचन मिति सारेर एकै दिन २१ गते गर्ने गरी भित्रभित्रै लबिइङ गरिरहेको छ ।

मंगलबार मात्रै प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको हुँदा निर्वाचनलाई प्रभाव पार्ने कुनै कार्य नगर्न सरकारलाई आग्रह गरेका हुन् । बनेपामा आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै डा. यादवले अहिलेको जटिल अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने काम सरकारबाट भए त्यसले मुलुकलाई दीर्घकालसम्म असर पुग्ने बताएका थिए ।

प्रमुख आयुक्त डा. यादवले जनताको मागलाई सम्बोधन गर्न पनि निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका थिए । डा. यादवले निर्वाचन मिति सार्न सरकारले प्रयत्न गरिरहेकोतर्फ संकेत गर्दै आफ्ना भनाइ राखे पनि सरकारले भने आयोगसँग निर्वाचन मिति सार्नेबारे छलफल चलाइरहेको बताइन्छ ।

विगतमा पनि स्थानीय तहको निर्वाचन मिति नसार्न आयोगले सरकारलाई पटकपटक अनुरोध गरे पनि तीन तीन पटकसम्म चुनाव हुन पुगेको थियो । आयोगको आग्रहलाई बेवास्ता गर्दै सरकारले पटकपटक निर्वाचन मिति सार्दै आएकोमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि सार्ने आशंका तीव्र बन्न पुगेको छ ।

सरकारले निर्वाचन मिति सार्ने प्रयत्न जारी राखे पनि विगतमा जस्तो सजिलो भने नरहेको बताइन्छ । वर्तमान सरकारमा माओवादी केन्द्र पनि रहेको हुँदा माओवादी केन्द्र निर्वाचन मिति सार्न नहुने पक्षमा उभिएकोले माओवादी मन्त्रीहरुको सहमति बिना मिति सर्ने सम्भावना नरहेको बताइन्छ । अर्कोतिर, निर्वाचन आयोगले निर्वाचनको सबै तयारी गरिसकेको हुँदा सरकारलाई मिति सार्न गाह्रो पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्