निलम्बित महानिर्देशक चूडामणि शर्मा साधारण तारेखमा थुनामुक्त


साउन २६ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्द्रीप्रत्यक्षीकरणको रिट जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले आज सो रिट जारी गरेको हो ।

अरबौं कर छली गरेको आरोपमा शर्मा पक्राउ परेका थिए । राजश्व विभागका निलम्बित महानिर्देशक शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अहिले सर्वत्र आलोचना भएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।

शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ । कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्