निशाकुशुम र अभिषेकको वैवाहिक सम्बन्धबारे यसो भन्छिन्, अभिषेककी आमा


१ कात्तिक । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कुटुम्बेरी सम्बन्धमा गाँसिएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा जोडिएका वर्तमान राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवबीच टीकाटालो भएपछि पूर्व र वर्तमान राष्ट्रपति औपचारिक नातो सम्बन्धमा जोडिएका हुन् ।

पहाडी र मधेसीबीचको खाडल गहिरो बन्दै गएका बेला भण्डारी र यादव औपचारिक रुपमै विवाह बन्धनमा बाँधिने निश्चित भएपछि यसको सर्वत्र चर्चा भएको छ ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य समेत रहेका शंकर पोख्रेलले त यादब र भण्डारीबीचको वैवाहिक सम्बन्धलाई सुखद संयोग र सुखद सन्देश भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसो भनेका हुन् । उनले सामाजिक सञ्जालमार्फत दुबै जनालाई धेरै–धेरै बधाई तथा शुभकामना भन्दै लेखेको स्ट्याटसमा  तीन हजारले लाइक गरेका छन् भने करिब तीन सयले कमेण्ट गरेका छन् ।

स्कुले जीवनदेखिनै प्रेम सम्बन्धमा रहेका यी जोडीले करिब ७ वर्षपछि औपचारिक रुपमै वैवाहिक सम्बन्धमा बाँधिने निर्णय गरेपछि यादव परिवारमा पनि खुशी छाएको छ । अभिशेषकी आमा किरण यादवले वर्तमान राष्ट्रपतिकी छोरीसँग आफ्नो परिवारले औपचारिक नातासम्बन्ध जोड्न लागेको भन्दै खुशी व्यक्त गरिन् । महोत्तरी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट सांसद रहेकी पूर्वराष्ट्रपति यादवकी भतिजी किरण यादवले धेरै कुरा सञ्चार माध्ययममा नबोल्ने भन्दै दुईबीचको सम्बन्धले आफू खुशी भएको बताइन् । ‘केटाकेटीको कुरा हो, उहाँहरुबीच विवाह हुँदैछ भन्ने कुरा तपाईंहरुलाई जानकारी नै छ,’ यादवले पहिलो न्युज डटकमसँग भनिन् ‘यो सम्बन्धले नेपाली–नेपालीबीचको सम्बन्ध अझ बलियो भएको छ ।’

यो सम्बन्धले त पहाडी र मधेसीबीचको विभेदलाई पनि कम गर्ला नि भन्ने प्रश्नमा उनले भनिन्– ‘यो भन्दा अघि पनि यस्ता सम्बन्ध भएका थिए, यो पहिलो होइन । त्यसैले हामीबीच विभेद थियो भनेर होइन हामी सबै नेपाली भनेर बुझ्नुपर्छ ।’निशा र अभिशेषको विवाह माघमा गर्ने तय भएको छ ।  (निशाकुशुम र अभिषेकको तस्बिर शंकर पोख्रेलको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्