नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिनेछ : प्रवक्ता भुसाल


२६ साउन । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेपाली काँग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु भएको बताएकी छन्।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्व सरकारको बजेट र नीति तथा कार्यक्रम त्यसबेला सरकारमा सहभागी माओवादी केन्द्रसँग छलफल गरेरै ल्याएको हुनाले वर्तमान सरकारले त्यसलाई पूर्णता दिने स्पष्ट पारिन् ।

सरकारले शान्ति प्रक्रियाको मुद्दालाई सम्बोधन गर्ने, पुनःनिर्माणको कामलाई तीव्रता दिने, मधेस आन्दोलनको समाधान खोज्ने र संविधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिइन् ।

विगतको सरकारले मधेस आन्दोलनको नेतृत्वसँगको संवाद उपलब्धिमूलक बनाउन नसके पनि वर्तमान सरकारको निर्माण अगावै तीनबुँदे सहमति गरेर उनीहरुले सरकार निर्माणमा सघाएको प्रसंग पनि उनले उल्लेख गरिन् ।

उनले चिनियाँ राष्ट्रपतिको आगमन सुनिश्चित रहेको र तयारीका लागि विभिन्न तहमा छलफल जारी रहेकोे बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्